न्याभ बाल चौतारीले भिक्टोरिया सरकारबाट पायो आधिकारिक भाषा विद्यालयको मान्यता

मेलवर्न । नेपाली संघ भिक्टोरिया (न्याभ)द्वारा सञ्चालित नेपाली भाषा विद्यालयहरु न्याभ बाल चौतारीलाई भिक्टोरिया राज्य सरकारले आधिकारिक भाषा विद्यालयको रुपमा मान्यता दिएको छ । २०१५ अक्टोबरमा विधिवत रुपमा दर्ता भएर सञ्चालन भइरहेका यी विद्यालयहरुले हालै आधिकारिक भाषा विद्यालयको रुपमा मान्यता प्राप्त गरेका हुन् ।

न्याभका अध्यक्ष प्रेमराज उप्रेतीले दिएको जानकारी अनुसार भिक्टोरिया सरकारले न्याभका भाषा विद्यालयहरुलाई २०२६ को ३१ डिसेम्बरसम्मको लागि भाषा विद्यालयको रुपमा सम्बन्धन दिएको हो । हाल न्याभद्वारा ५ विद्यालयहरु सन्चालनमा रहेका छन् ।

क्याम्पसहरु थमस्टाउन प्राथमिक विद्यालय, मर्न्डा जिन्दी फेमिली एन्ड कम्युनिटी सेन्टर, टार्नेटस्थित डिएनेल्ला कम्युनिटी सेन्टर, लिनब्रुकस्थित लिनब्रुक फेमिली एन्ड चिल्ड्रेन सेन्टर, टेलर्स लेक्सस्थित सिडेन्म नेबरहुड हाउसले सम्बन्धन प्राप्त गरेको हो ।

न्याभले न्याभ बाल चौतारीको पहिलो प्रिन्सिपलको रुपमा न्याभ उपाध्यक्ष कृष्ण चालिसेलाई नियुक्त गरेको छ । न्याभले लामो समयदेखि गरिरहेको मिहेनत अनुसार अहिले यो सफलता मिलेको भन्दै यसले गर्दा न्याभ बाल चौतारीलाई संस्थागत रुपमा दीर्घकालिन रुपमा विकास गर्न मद्दत पुग्ने प्रिन्सिपल चालिसेले विश्वास गरे ।

यस्तै सरकारले अब नयाँ क्पाम्सहरु थपिएको खण्डमा नयाँ सम्बन्धन प्राप्त गर्नुपर्ने पनि सरकारले जानकारी दिएको छ । योसँगै न्याभका विद्यालयहरुले अब सरकारबाट सन्चालनको निम्ती अनुदान तथा सहयोग हरु पाउने भएको न्याभ कोषाध्यक्ष डा. एकिन्द्र तिमिल्सेनाले जानकारी दिए ।

न्याभको वर्तमान कार्यसमितिको लामो समयको मिहेनत, प्रयास तथा यहाँको नेपाली समुदाय र सामाजिक अगुवाहरुको साथ र सहयोगको कारण न्याभ बाल चौतारीले आधिकारिकता पाउन सफल भएको भन्दै अध्यक्ष उप्रेतीले सम्बद्ध सबैप्रति आभार व्यक्त गरे ।

गनर्भिङ काउन्सिल गठन
यस्तै विद्यालय सन्चालनको निम्ती न्याभले १४ सदस्यीय गनर्भिङ काउन्सिल गठन समेत गरेको छ । न्याभ अध्यक्ष प्रेम राज उप्रेतीको अध्यक्षतामा गठित काउन्सिलको आर्थिक संयोजकमा डा. एकिन्द्र तिमिल्सेना, शैक्षिक विशेषज्ञको रुपमा डा. राजु अधिकारी र चेत राज ढकाल, प्रिन्सिपल कृष्ण चालिसे, विद्यालयहरुको तर्फबाट बालचौतारी नर्थबाट प्रकाश चालिसे, प्रकाश रेग्मी, वेस्टबाट सुशिल चालिसे, ह्न्डिमबाट निरुपमा थापा, शिव इटानी, साउथइस्टबाट भास्कर रेग्मी र भिष्म पाठक, डोरिन मरन्डाबाट हेमराज पन्त र मनोज ढुंगाना रहेका छन् ।

यो संरचना भिक्टोरियामा रहेका नेपाली डायस्पोराका बढ्दो आवश्यकतालाई सम्बोधन गर्दै भाषा विद्यालयहरूलाई दिगो र एकताबद्ध रूपमा व्यवस्थापन र व्यवस्थापन गर्ने उद्देश्यले बनाइएको न्याभले जनाएको छ ।

नयाँ शैक्षिक सत्रको निम्ती भर्ना खुल्यो

यस्तै न्याभ बाल चौतारीका ५ वटै क्याम्पसहरुमा नयाँ शैक्षिक सत्रको निम्ती भर्ना खुलेको छ । ५ देखि १३ बर्ष उमेर समूहका बालबालिकाहरुलाई भर्ना हुन आह्वान गर्दै प्रिसिन्पल चालिसेले भर्ना मार्च पहिलो हप्तासम्म चल्ने जानकारी दिए ।

भिक्टोरियामा संचालनमा रहेको नेपाली भाषा पाठशालाहरू मध्ये न्याभ बाल चौतारी सबैभन्दा पुरानो र सबैभन्दा धेरै विद्यार्थी भएको पाठशाला हो।  गत बर्षको तथ्यांक अनुसार न्याभ बालचौतारीका ५ क्याम्पसमा करिब २५० बालबालिकाहरुले अध्ययन गरिरहेका छन् भने नयाँ भर्ना खुलिसकेको छ । यसैगरी न्याभले गत वर्षदेखि बालबालिकाहरूलाई पाठ्यपुस्तक र अन्य सामग्रीहरू वितरण गरेको र यस वर्ष विद्यालय पोशाक पनि वितरण गरेको छ।

भिक्टोरियामा हुँर्कदै गरेका बालबालिकाको लागि नेपाली भाषा, कला, संस्कृतिको विस्तारको लागि सुरुवातदेखिनै काम गरिरहेको न्याभले विभिन्न कार्यक्रमहरू आयोजना गरी प्रत्येक बर्ष बाल दिवस मनाउँदै आएको छ । त्यसैगरी अष्ट्रेलिया डे, बुवाको मुख हेर्ने दिन र दशैं तिहारको अवसर पारेर बालबालिकासम्बन्धी प्रतियोगिताहरू पनि आयोजना गर्ने गरेको छ।

हेर्नुहोस भिक्टोरिया सरकारले पठाएको पत्र

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय