जब फेडरेसन स्क्वायरमा पहिलो पटक फहराएको नेपाली झण्डा देखेर हजारौं आँखा रसाए…

मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाको मेलबर्नमा आगामी मार्च १५ तारिख नेपाल फेष्टिभल आयोजना हुँदैछ । गैरआवासीय नेपाली संघ अष्ट्रेलिया भिक्टोरिया राज्य समितिको आयोजनामा हुने नेपाल फेष्टिभल हरेक दुईवर्षमा आउने चाडजस्तै बनेको छ यहाँका नेपालीका लागि । अहिले भिक्टोरियामा बसोबास गर्ने नेपालीका लागि सहभागी हुनैपर्ने एउटा ईभेन्ट बनेको नेपाल फेष्टिभलको सुरुवातको चरण रोचक छ ।

यो जान्नका लागि हामी १७ वर्ष पछाडि फर्किनुपर्ने हुन्छ, सन् २००८ मा । विश्वमै पहिलो पटक नेपाल फेष्टिभल सन् २००६ मा सिड्नीमा आयोजना भएको थियो । यससँगै नेपालीहरुको उपस्थितिका हिसाबले दोश्रो ठूलो शहर मेलबर्नमा समेत गर्ने योजना बन्यो । त्यहीँ योजनाको महत्वपूर्ण हिस्सा बनेका थिए राजु शाक्य । राजु शाक्यले सन् २०१४ को नेपाल फेष्टिभल संयोजनको कार्य समेत गरे । मार्च २०२५ मा नेपाल फेष्टिभल आयोजनाको सन्दर्भ सुरु गर्दा हामीले उनै शाक्यसँग ऐतिहासिक क्षणलाई पुनःस्मरण गर्ने कोसिस गरेका छौं ।

मेलबर्नको पहिलो नेपाल फेष्टिभल उनै शाक्यका शब्दमा –

२००६ मा सिड्नीमा पहिलो पटक नेपाल फेष्टिभल आयोजना भयो । हामी मेलबर्नमा किन गर्न सक्दैनौं भन्ने सोचका साथ २००८ मा आयोजना गर्ने तयारी गरियो । हामीले अष्ट्रेलियन बहुसांस्कृतिक समाजमा आफ्नो उपस्थिति देखाउनुपर्छ भन्ने ठानेर नै यो निर्णय लिएका थियौं ।

आयोजना गर्ने सोच त राखियो त त्यतिबेला सबैभन्दा ठूलो चुनौती नै आर्थिक व्यवस्थापन थियो । नेपाली विजनेसहरु अहिलेजस्तो धेरै थिएनन् । निःशुल्क दर्शक सहभागी हुने भएका कारण टिकट बेच्ने कुरा पनि थिएन । दशैं, तिहार जस्ता चाडवाड विभिन्न टाउनहल र सभाहलहरुमा गरिरहेका हामीहरुलाई खुल्ला ठाउँमा, त्यो पनि मेलबर्नको मुुटु फेडरेसन स्क्वायरमा त्यति ठूलो ईभेन्ट गर्ने अनुभव हाम्रो समूदायको कसैलाई पनि थिएन । काम गर्दैजाँदा धेरै सिक्नुपर्यो । त्यतिबेला ईभेन्टको भेन्यूहरु, सरकारी निकायहरुलाई पत्राचार गर्न, योजना दिन पनि गाह्रो भएको थियो, धेरै समय लागेको थियो ।

जब नेपाल फेष्टिभल सकियो ढुक्क भइयो, गर्न सकियो भन्ने लाग्यो । तर, योभन्दा पनि ठूलो कुरा चाहीँ त्यो जुन दिन मेलबर्नको मुटु फेडरेसन स्क्वायरमा नेपाली झण्डा फहराईरहेको थियो, हाम्रो अपेक्षा ५ हजारसम्म दर्शक आउँछन् होला भन्ने भएपनि नेपालीहरु १० हजारको संख्यामा भेला भएका थिए । नेपाली खानाको बास्ना आइरहेको थियो । दिनभरी रमाइलो भयो र जब कार्यक्रम सकियो । कार्यक्रम सकिँदा पनि धेरै मानिसहरु आफ्नो घर नफर्किकन त्यहीँ झण्डाको तल बसिरहेका थिए । उनीहरु सबैको एउटै भलाई थियो, मेलबर्नको मुटुमा हाम्रो देशको झण्डा फर्फराउँदा आँखा भरिएर आए, कैयौंको आँशु बग्यो । एकदमै भावनात्मक समय थियो । फेडरेसन स्क्वायरको मेनेजमेन्ट कम्पनीले पनि हामीलाई प्रतिक्रियामा वन अफ दि मष्ट भाईब्रेन्ट, डायनामिक ईभेन्ट ईन फेडस्क्वायर वी ईभर ह्याड भन्यो ।

२००८ को नेपाल फेष्टिभलमा धेरैजसो यहीँका कलाकारहरुको प्रस्तुति थियो । तर, मुख्य आकर्षणका रुपमा एक्स व्याण्डले आफ्नो प्रस्तुति दिएको थियो ।
मेलबर्नमा पहिलो नेपाल फेष्टिभलको आर्थिक व्यवस्थापनको कुरा गर्दा हामीले भुल्न नहुने एउटा नाम छ, चन्द्र योन्जन । उहाँले जब नेपाल फेष्टिभल मेलबर्नमा गर्नुपर्यो भन्ने योजना आयो उहाँले, ल भाई गर्नु यदि पैसा पुगेन भने म छु भन्ने ढाडस दिनुभएको थियो । त्यस्तो अवस्था त आएन । तर, त्यो आश्वासनले नै हामीलाई अघि बढ्ने साहस दिएको थियो ।

ईभेन्ट कोअर्डिनेटरको काम भनेको आईडिया ल्याउने नै हो । सबै पक्षलाई संयोजन गर्ने नै काम थियो । अहिले भन्दा, सम्झँदा गर्व लाग्ने कुरा चाहीँ पूरै समूदाय एकढिक्का भएर आयोजनामा जुटेको थियो । कन्सुलेट अफिसमा डान्सको प्राक्टिस हुन्थ्यो, खाना खाजा लिएर कोही आइदिन्थ्यो, स्वतस्फुर्त । सबैले एक अर्कालाई माया गरिरहेको थियो, एकताबद्ध थियो समाज नेपाल फेष्टिभलको तयारीमा ।

उहिले र अहिलेको फरक के ? के नयाँ गर्न सकिन्छ भन्ने कुरामा मलाई के लाग्छ भने हाम्रो २००८ देखिको एउटै फम्र्याटमा चलिरहेको छ । २०१४ मा हामीले विहान परेड गर्ने कार्यक्रम थप्यौं । नेपाल हाउस पनि आकर्षणमा छ । तर, समग्रमा व्याण्ड लिएर आउने, स्थानीय कलाकारले आफ्नो उपस्थिति देखाउने लगायत सधैं एउटै भइरहँदा आकर्षण कम हुँदै जान्छ । केही न केही नयाँ गर्दै जानुपर्छ जसले आकर्षण थप्छ । विगत र अहिलेको तुलना गर्दा मेरो सुझाव, आयोजना गर्न संलग्नहरुलाई समूदायले पूर्णसहयोग गर्नुपर्छ । आयोजना गर्ने साथीहरुले पनि आफ्नो कुनै स्वार्थ नराखीकन यो मेरो माटोको लागि हो मेरो देशको लागि हो भनेर लाग्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय