राजधानीका अधिकांश पेट्रोल पम्पले मिटर बिगारेर पेट्रोल बेचेको भेटियो

 

काठमाडौं । करिब एक साता अगाडि काठमाडौंको स्वयम्भू क्षेत्रबाट वाणिज्य, आपुर्ति तथा उपाभोक्ता संरक्षण विभागमा एउटा गुनासो आयो । गुनासो थियो एउटा पेट्रोल पम्पले मिटर बिगारेर पेट्रोल तथा डिजेलको परिमाणमा तलमाथि गरेको । स्थानीय सर्वसाधारणको उक्त गुनासोपछि वाणिज्य, आपुर्ति तथा उपाभोक्ता संरक्षण विभागबाट असार ९ गते एउटा टोली छड्के अनुगमनमा निस्कियो ।

विभागको अनुगमन गर्ने टोलीले काठमाडौं उपत्यकाका विभिन्न पेट्रोल पम्पमा धमाधम अनुगमन गर्यो । अनुगमन टोलीले काठमाडौंको स्वयम्भुमा रहेको हामा आयल प्रालिमा त्रुटी भेट्यो । सो पेट्रोल पम्पले पेट्रोलियम पदार्थको गुणस्तर र परिमाणमा नै हेरफेर गरेर डिजेल तथा पेट्रोल बिक्री वितरण गर्दै आएको अनुगमन टोलीले फेला पार्यो ।

हामा आयलले कति परिमाण र गुणस्तरमा हेरफेर गरेर पेट्रोलियम पदार्थको बिक्री गर्दै आएको हो भन्ने कुरा भने विभागले सार्वजनिक गरेको छैन । तर, सो पेट्रोल पम्पले बदमासी गरेको प्रमाणित भएपछि अनुगमन टोलीले ‘अन दि स्पोट’ २ लाख रूपैयाँ जरिवाना गर्यो ।

वाणिज्य, आपुर्ति तथा उपाभोक्ता संरक्षण विभागका प्रवक्ता हरी पंगेनीले गुनासो अनुसारकै त्रुटी भेटाएपछि सो पेट्रोल पम्पलाई २ लाख जरिवाना तिराएको जानकारी दिए । तर, सो पेट्रोल पम्पले कहिलेदेखि र कति उपभोक्ताहरुलाई ठगी गर्यो भन्ने विषय भने आफूहरुलाई थाहा नभएको उनको भनाइ छ ।

उनका अनुसार अनुगमनको प्राविधिक पक्ष आयल निगम र गुणस्तर तथा नापतौल विभागले हेर्ने गरेको छ । एउटा पेट्रोल पम्पमा त्रुटी भेटिएपछि विभागले निरन्तर अनुगमन बढायो । असार १२ गते लोकन्थलीमा रहेको सिद्धार्थ फ्यूल सेन्टरमा अनुगमन गर्दा बिल बिजक नै नराखी पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने गरेको पाइएपछि विभागले सो सेन्टरलाई पनि स्थलमै २ लाख रुपैयाँ जरिवाना तिरायो ।

त्यसपछि निरन्तर कारवाहीमा पर्ने पेट्रोल पम्हरुको संख्या बढेको विभागको भनाइ छ । वाणिज्य, आपुर्ति तथा उपाभोक्ता संरक्षण विभागले उजुरी तथा निवेदनका आधारमा विभिन्न व्यवसाय तथा उद्योगहरुको अनुगमन गर्ने काम गर्दै आएको छ ।

काठमाडौं उपत्यकामा बजार अनुगमनको कामलाई विभागले विदाको दिनमा बाहेक दैनिक रुपमा गर्दै आएको छ । बजार अनुगमन गरिसकेपछि त्यसको रिपोर्टलाई विभागले सबैले थाहा पाउन भन्ने उद्देश्यले वेबसाइटमार्फत् सार्वजनिक समेत गर्ने गरेको छ । प्रवक्ता पंगेनीका अनुसार पछिल्लो समय विभागले अनुगमनको कामलाई तीव्रता दिएको छ ।

‘कतिपय उद्योगी तथा व्यवसायीहरुले परिमाण तथा गुणस्तरमा हेरफेर गरेर अतिरिक्त आम्दानी गर्ने उद्देश्यले काम गरिरहेका हुन्छन, जसले गर्दा आम उपभोक्ताहरु दैनिक रुपमा थाहा नपाइकन नै ठगिइरहेका हुन्छन्,’ उनले भने ।

असार महिनाको १५ गतेसम्म काठमाडौं उपत्यकाभित्रका विभिन्न उद्योग तथा व्यवसायहरुमाथि अनुगमन गर्दा दर्जनौ व्यवसायीहरुले गैरकानूनी ढंगले उद्योग तथा व्यवसाय सञ्चालन गरिरहको विभागले भेट्टाएको छ ।

असार १ गते देखि १५ गतेसम्म विभागले काठमाडौं उपत्यकाभित्रका विभिन्न १ सय ८४ वटा उद्योग तथा व्यवसायहरुमाथि अनुगमन गरेको थियो । जसमध्ये २१ वटा पेट्रोलपम्पमा अनुगमन गरेको विभागले जनाएको छ । अनुगमन गरिएका २१ वटा पेट्रोलपम्पमध्ये अन्य ६ वटाले प्रमाणपत्र तथा कागजात चुस्तदुरुस्त रुपमा नराखेको विभागले जनाएको छ ।

विभागका अनुसार ती पेट्रोल पम्पहरुलाई पनि ५० हजार देखि १ लाख रुपैयाँ सम्म जरिवानामा परेका छन् । एउटा पेट्रोल पम्पलाई पम्पको सम्पूर्ण कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय