आस्था नेपाली हिन्दू सोसाइटी भिक्टोरियाको अध्यक्षमा डा. अधिकारी, ५ बर्षमा पशुपतिनाथ मन्दिर बनाउने प्रतिवद्धता

मेलवर्न । आस्था नेपाली हिन्दू सोसाइटी भिक्टोरियाले आफ्नो वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गर्दै डा. राजु अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ।

यस्तै उपाध्यक्षमा लाल कँडेल र सरस्वती पुण्डसेनी निर्वाचित भएका छन्। महासचिवको भूमिकामा रमेश खड्का जिम्मेवारीमा रहनेछन् भने सह–सचिव भिष्म पाठक, कोषाध्यक्ष सुरज पराजुली तथा सह–कोषाध्यक्ष महिला सदस्यका लागि खुला राखिएको छ। सोसाइटीको पब्लिक अफिसरका रूपमा आलोक पौडेल र वित्त तथा अनुदान व्यवस्थापनका लागि डा. यकिन्द्र तिमिल्सेनाले जिम्मेवारी पाएका छन्। यसैगरी, समितिका सदस्यहरूमा प्रकाश गौतम, टंक कँडेल, जनकराज गौतम, श्री पन्त, रञ्जित शाह, यज्ञ धिताल, राधा भट्टराई, रमेश केसी, मनु गौतम, डा. निर्पा रावल, डा. बाबु राम भट्टराई, भास्कर रेग्मी र प्रेम केसी चयन भएका छन्। संस्थाले कार्यसम्पादन समिति, कार्यक्रम व्यवस्थापन समिति र सदस्यता विस्तार समिति गठन गरी आगामी वर्षका गतिविधिहरूलाई थप व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्ने तयारी गरेको छ।

संस्थाले भिक्टोरियामा रहेका नेपाली हिन्दू समुदायलाई एकताबद्ध, सशक्त र सेवामुखी बनाउँदै दीर्घकालीन रूपमा श्री पशुपतिनाथ मन्दिर स्थापना गर्ने उद्देश्यलाई अझ गतिशील रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त समेत गरेको छ। साधारणसभा मार्फत सोसाइटीले आगामी कार्यक्रम, संरचना तथा दीर्घकालीन योजनालाई थप स्पष्ट र परिणाममुखी बनाउँदै अघि बढ्ने घोषणा गरेको हो।

नवगठित कार्यकारिणी समितिले आगामी वर्षका प्रमुख योजना तथा प्राथमिकतासमेत प्रस्तुत गरेको थियो।

सभाको समापनमा अध्यक्ष डा. राजु अधिकारीले समुदायको समग्र उत्थानका लागि सहकार्य र समावेशीतालाई प्रमुख एजेन्डा बनाउँदै अगाडि बढ्ने योजना सार्वजनिक गरे। उनले विश्वभर रहेका पशुपतिनाथ मन्दिर तथा धार्मिक–सांस्कृतिक संस्थासँग सहकार्य विस्तार गर्ने, दोस्रो पुस्ताका नेपाली युवा तथा अन्य बहुसांस्कृतिक समुदायलाई सोसाइटीका गतिविधिमा सक्रिय रूपमा समावेश गराउने तथा नेपाल सरकारसँग सांस्कृतिक पहिचान र मन्दिर विकासका लागि औपचारिक सहयोग माग्न पहल गर्ने बताए। साथै, सोसाइटीको विधान संशोधन अनुसार समितिमा कम्तीमा २५ प्रतिशत महिला सहभागिता सुनिश्चित हुने प्रावधान लागू भइसकेको र महिला नेतृत्वलाई संस्थागत रूपमा मजबुत बनाउँदै लैजाने लक्ष्य प्रस्तुत गरिएको छ।

नवनिर्वाचित महासचिव रमेश खड्काले सोसाइटी अब स्पष्ट लक्ष्य, प्रभावकारी योजनाबद्धता र परिणाममुखी कार्यशैलीसहित अघि बढ्ने बताए। उनले विशेषगरी पाँच वर्षभित्र श्री पशुपतिनाथ मन्दिर निर्माण सम्पन्न गर्ने महत्त्वाकांक्षी लक्ष्यप्रति समितिको साझा प्रतिबद्धता रहेको उल्लेख गरे। उनका अनुसार, सोसाइटी अबका दिनहरूमा पारदर्शिता, नियमितता र सदस्यहरूको सक्रिय सहभागीतालाई आफ्नो मूल आधार बनाउँदै काम गर्न केन्द्रित हुनेछ।

अन्त्यमा, आस्था नेपाली हिन्दू सोसाइटी भिक्टोरियाले सबै सदस्य, स्वयंसेवक तथा शुभेच्छुकप्रति निरन्तर समर्थनका लागि आभार व्यक्त गर्दै आगामी दिनमा समुदायको सांस्कृतिक पहिचान संरक्षण, एकता प्रवर्द्धन र भावी पुस्ताका लागि दिगो तथा सुदृढ संस्था निर्माणका दिशामा सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय