रवि, कुलमान र बालेन समूहबीच सहकार्य संवाद

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरू छुट्टिएर चुनाव लड्दा फेरि पुरानै राजनीतिक दलको वर्चस्व स्थापित हुने जोखिम देखेपछि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), कुलमान घिसिङ समर्थित उज्यालो नेपाल पार्टी (उनेपा) र काठमाडौंका मेयर बालेन शाह समूहका व्यक्तिहरू सहकार्यका लागि सघन छलफलमा जुट्न लागेका छन् ।

यो छलफललाई निष्कर्षमा पुर्‍याउन र मिल्न दबाब दिन जेनजीका समूहहरू पनि सक्रिय देखिन थालेका छन् । यही सिलसिलामा द काउन्सिल अफ जेनजीका अगुवा सुदन गुरुङले बिहीबार रास्वपा सभापति रवि लामिछानेलाई नख्खु जेलमै गएर भेटे ।

भेटमा जानु अघि नै उनले लेखेका थिए, ‘बालेन र कुलमानको एकतापछि, हामीले गरेको वाचाअनुसार आज एकता संवादको लागि रवी लामिछानेसँग भेट गर्दैछौं र उहाँको धारणा पनि सुन्नेछौं ।’

यति लेखेर जेलमा रवि लामिछाने भेटेका गुरुङले सबै वैकल्पिक शक्ति मिलेर पुराना दललाई हराउनुपर्ने आशयको प्रस्ताव गरेका थिए । ‘मिल्नुपर्छ भन्नेमा हामी सकारात्मक छौँ । तपाईंहरू यसको लागि पहल गर्नुस्,’ लामिछानेलाई उद्धृत गर्दै गुरुङले अनलाइनखबरसँग भने ।

त्यस्तै, आफूले कुलमान र बालेनलाई पनि भेट गराएको दाबी गुरुङको छ । यसबारे उज्यालो नेपालका एक शिर्ष नेतासँग बुझ्दा पनि गुरुङसहितको पहलमा आफूहरूले बालेनलाई भेटेको स्वीकारे ।

‘सुदनजी सुरुबाटै मिलाउन नै लाग्नुभएको हो । बालेनसँगको भेटमा अरूसँगै उहाँको पनि सहयोग छ,’ उनले भने । गत शनिबारको उक्त भेटघाटपछि कुलमान घिसिडले आइतबार काठमाडौं महानगरका मेयर बालेन शाहसँगको तस्वीर सार्वजनिक गर्दै लेखेका थिए, ‘देश बनाउने अभियानमा हामीसँगै छौँ ।’

उक्त भेटमा थप के कुरा भएको थियो ? उज्यालो नेपालको वार्ता समितीमा रहेका एक नेता भन्छन्, ‘कुलमान जीलाई उहाँले आफूले उज्यालो नेपाललाई समर्थन गर्ने र भरसक वैकल्पिकहरू मिल्नुपर्ने सन्देश दिनुभएको थियो । उहाँको समर्थन हामीलाई रहन्छ भन्नेमा ढुक्क छौँ । त्यसैले पनि कुलमान जीले फोटो नै सार्वजनिक गर्नुभएको थियो ।’

रास्वपा प्रवक्ता मनिष झाले पनि सबै पक्ष एक भएर जाने विषयमा छलफल सकारात्मक चलिरहेको बताए । उनकाअनुसार सबै एक भएर अलायन्समा जाने पक्कापक्की भएको छ । नाम, चुनाव चिह्नजस्ता विषयमा भने छलफल नै चलिरहेको छ ।

‘छलफल चलिरहेको छ । अरू विषयमा करिब मिलिसकेको छ । अलायन्स गर्ने पक्कापक्की हो । बाँकी चुनाव चिह्न कुन लिएर जाने भन्ने विषयमा संवाद भइरहेको छ । दुईचार दिनमा केही निष्कर्ष आउँछ,’ रास्वपा प्रवक्ता झाले भने ।

कुलमान घिसिङको पार्टी खुल्नु अघि नै मिलाउने कोसिस भएको थियो । नमिलेपछि घिसिङ रास्वपा भन्दा बालेनको समूहसँग नजिकन थालेको हो ।

उज्यालो नेपाल पार्टीले केन्द्रीय कमिटी विस्तार गर्दैछ । उज्यालो नेपालमा हाल ५१ सदस्यीय केन्द्रीय समिति छ । त्यसबेला बालेन समूहका केही व्यक्ति केन्द्रीय कमिटीमा पठाउने मोटामोटी सहमति भइसकेको दाबी उज्यालो नेपाल पार्टीका एक नेताले गरे ।

उज्यालो नेपाल पार्टी घोषणामा शुभेच्छा व्यक्त गर्न आएका अन्य व्यक्तिहरूले पनि वैकल्पिक शक्ति मिलेर जानुपर्ने सुझाव दिएका थिए ।

रास्वपाको तर्फबाट स्वर्णिम वाग्ले, डिपी अर्याल, शिशिर खनाल लगायतका नेतासँग उज्यालो नेपालका नेताहरूको निरन्तर संवाद चलिरहेको छ ।

रास्वपाले गठन गरेको उच्च स्तरीय संवाद समितिका संयोजक समेत रहेको उपसभापति स्वर्णिम हाल भने अष्ट्रेलियामा छन् । तर अन्य नेताहरूले छलफल गरिरहेका छन् ।

उज्यालो नेपालकै उपल्ला तहका अर्का नेता पनि सैद्धान्तिक विषयमा दुई दलको एकतामा समस्या नभएको बताउँछन् । उनकाअनुसार एकताका लागि एक तहको सहमति पनि बनिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर