काठमाडौं । अमेरिकाले २०२४ को डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुला गरेको छ । १९ असोज बुधबारको राति ९ः४५ बजेबाट खुला भएको आवेदन २२ कार्तिक २०७९ सम्म जारी रहने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।
आवेदन दिनको लागि https://dvprogram.state.gov/ मा गएर मागिएको जानकारीहरू प्रविष्ट गर्नुपर्नेछ । स्पन्सर लगायतका कागजात नचाहिने र डीभीको आवेदन निःशुल्क भर्न सकिने समेत दूतावासले जनाएको छ ।
कसरी भर्ने डीभी ?
अमेरिकाको विदेशमन्त्रालय अन्तर्गतको वेबसाइटमा डीभी चिठ्ठा भर्ने फाराम राखिएको हुन्छ । त्यहाँ आफ्नो तस्बिरसहितको आफ्नो वास्तविक विवरण भर्ने । त्यहाँबाट एउटा कन्फरमेसन कोड दिइन्छ ।
डीभी चिठ्ठा आवेदन भरेको निश्चित समयपछि अमेरिकाको विदेशमन्त्रालयले चिठ्ठाको नतिजा सार्वजनिक गर्दछ । डीभी भर्ने बेला दिइएको कन्फरमेसन कोडको माध्यमबाट डीभी चिठ्ठा परेर नपरेको निश्चित हुन्छ । यसकारण कन्फरमेसन कोड बिर्सिनु हुँदैन ।
यदि डीभी चिठ्ठा परेको भए आप्रवासन भिसाको औपचारिक आवेदन दिनुपर्ने प्रावधान छ । यससँगै आफ्नो शैक्षिक योग्यता र अन्य आवश्यक दस्ताबेजहरू पेस गर्नुपर्छ । दस्ताबेज नेपाली वा अरू कुनै भाषामा भए त्यसको अंग्रेजी प्रति पनि पेस गर्नुपर्छ ।
त्यसपछि अमेरिकी अध्यागमन निकायले आवेदकको पृष्ठभूमि अध्ययन गर्छन् । आवेदकको आपराधिक रेकर्ड, विवरण सही भए नभएको जाँच, मेडिकल जाँच लगायतको अध्ययन गरिसकेपछि अन्तरवार्ताको प्रक्रिया सुरु हुन्छ ।
तर, आवेदकको सबै विवरण सही भएपनि अन्तरवार्ताका लागि छनोट नहुन सक्छन् । डीभी परेका सबैलाई भने अमेरिकाले भिसा दिँदैन ।
छनौट भई अन्तरवार्ता सफल भएमा आवेदकको अमेरिका यात्राका लागि बाटो खुला हुन्छ । त्यसपछि तपाईँलाई आप्रवासन भिसा दिइन्छ । यद्यपि अन्तरवार्तामा सफल भएका सबैले भिसा पाउँछन् भन्ने पनि हुन्न । तर, भिसा पाएपछि भने अमेरिका यात्राको बाटो खुला हुन्छ ।