रोग प्रतिरोधी क्षमता बढाउने सरल उपाय

कोरोना भाइरस (कोभिड–१९)को कहरले विश्वलाई नै त्रसित बनाएको छ । मानव स्वास्थ्यप्रतिको यो गम्भीर संकटमा सबै सचेत र संयम हुनुपर्ने देखिन्छ । कोरोना निको पार्ने कुनै खास औषधि र पूर्ण उपचार विधि हालसम्म पत्ता लागेको छैन । जोखिमको समय अझै गएको छैन भन्ने बुझ्नुपर्छ । यसर्थ, भाइरससँग लड्न उपयुक्त उपाय भनेको नै रोग प्रतिरोधात्मक क्षमता विकास गर्नु र बलियो बनाउनु हो । रोग प्रतिरोधात्मक क्षमता विकासका लागि बजारमा उपलब्ध ‘भिटामिन’ तथा अन्य ‘सप्लिमेन्ट’को पछि लाग्नुभन्दा स्वस्थ जीवनशैली र दैनिकी मिलाउन आवश्यक छ । यस्ता उपाय अपनाएमा रोग प्रतिरोधात्मक क्षमता बलियो बन्छ :

तनावबाट टाढा रहने

अत्यधिक तनावले मानसिक असर पार्ने मात्र नभई शारीरिक रूपले पनि कमजोर बनाउँछ । यसको असर स्वतः प्रतिरोधात्मक क्षमतामा पर्न जान्छ । प्रकोपको समयमा डर र तनाव लिनुको सट्टा संयमता अपनाउनुपर्छ ।
घरमै सामान्य व्यायाम र अभ्यास गर्ने

कोरोना महामारीको प्रत्यक्ष असर परेको क्षेत्रमध्ये पर्छ जिमखाना । यसअघि जिमखाना जाने मानिस आफैँले घरमै हल्का शारीरिक व्यायाम तथा अभ्यास गर्न थालेका छन् । यद्यपि, घरमा जिमखानामा जस्तो ‘हेभी ’ र धेरै व्यायाम उचित हुँदैन । किनकि, अहिलेको लकडाउनको समयमा व्यायामअनुसारको डाइट (प्रोटिन) उपलब्ध हुँदैन । यस्तो अवस्थामा हेभी व्यायाम गरेमा त्यसले शरीरलाई कमजोर बनाउँछ । त्यसैले, शरीरलाई स्वस्थ र ताजगी राख्ने तरिकाको व्यायाम गर्न सकिन्छ । र, यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि मद्दत गर्छ ।

पर्याप्त निद्रा

लामो समयको लकडाउनले मानिसको दैनिकी अस्तव्यस्त पारेको छ । सुत्ने–उठ्ने तालिका नै बिथोलिएको छ । यद्यपि, हामीले ‘हेल्दी प्लानिङ’ भने गर्न सक्छौँ । युवाहरूले औसतमा सातदेखि आठ घन्टा सुत्नुपर्छ भने बच्चाहरूलाई १० देखि १२ घन्टासम्मको निद्रा चाहिन्छ । यस्तो भएमा लगडाउनका वेला पनि स्वस्थ रहन सकिन्छ ।

सादा दही सेवन गर्ने

जमाएको दूधमा ‘ब्याक्टेरिया’ मिलाएर दही बनाइन्छ । यस्ता ब्याक्टेरियाले शरीरमा रहेको दूषित ब्याक्टेरिया र भाइरससँग लड्ने क्षमता राख्छन् । त्यसैले, सादा दहीको सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनक छ । औषधिका रूपमा पाइने एन्टिबायोटिकले यो हाम्रो शरीरभित्र रहेका हितकारी ब्याक्टेरियालाई पनि निष्क्रिय पार्न सक्छ । दहीबाहेक, लसुन, प्याज, अदुवा, तरकारी, फलफूल, भिटामिन डी, मिनरल्सयुक्त खानेकुरा, साग तथा हरिया तरकारी पनि स्वस्थवर्धक हुन्छन् । साथै, ‘सुगर’ र ‘फ्याट’युक्त खानाको सेवन घटाउनुपर्छ । यस्ता खानामा पोषणको मात्रा कम हुन्छ ।

चुरोट तथा भेप सेवन नगर्ने

श्वास–प्रश्वासका बिरामी तथा धूम्रपान गर्नेहरूलाई कोरोना भाइरस निकै घातक साबित हुन सक्छ । चुरोट तथा भेपजस्ता धूम्रपानजन्य वस्तुको सेवनले श्वास–प्रश्वास प्रणालीमा असर गर्छ । तसर्थ, यस्ता बानी छोड्नु नै अहिलेको सबैभन्दा सुरक्षित कदम हो । मद्यपानले पनि स्वास्थ्य प्रणालीमा नकारात्मक असर गर्छ । यसकारण, यस्ता कुलतलाई छोड्न सकेमा शरीर स्वस्थ, बलियो र रोग प्रतिरोधी रहन सक्छ ।

खोपबारे अपडेट हुने

पछिल्लोसमय कोरोनाविरुद्ध प्रतिरोधी क्षमता बढाउने विभिन्न खोप आएका छन् । ती खोप सम्भव भएसम्म लगाउनुपर्छ । सरकारले विभिन्न समयमा खोप सञ्चालनसमेत गर्दै आएको छ । खोपको डोज पूरा गरेमा प्रतिरोधात्मक क्षमता बढ्छ । कोरोना संक्रमण भइहाल्यो भने पनि त्यसलाई परास्त गर्न सहयोग पुग्छ ।

त्यस्तै, आफ्ना बालबालिकालाई हालसम्म कुन–कुन खोप दिइयो । के–के लगाउन बाँकी छ भन्नेबारे अभिभावक जानकार रहनुपर्छ । किनकि, दादुरा, हेपाटाइटिसजस्ता खोपले सम्भावित रोगसँग लड्नका लागि सहयोग गर्छ ।

(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय