कोरोनाविरुद्ध कति प्रभावकारी छ भिटामिन डी ?

भिटामिन डी एक बोसोयुक्त घुलनशील भिटामिन हो, जुन अन्य भिटामिनभन्दा फरक हुन्छ । सामान्यतया, सूर्यको किरणबाट प्राप्त हुने यो भिटामिनले शरीरमा प्रो–हार्मोनको काम गर्छ । भिटामिन डीको कमीका कारण हाड कमजोर हुने समस्या अर्थात् ओस्टियोमलासिया हुन्छ । यसैबीच, पछिल्लो समय भिटामिन डी डिफिसियन्सी र कोभिड–१९ को सम्बन्धबारे अध्ययन गर्न थालिएको छ ।

-प्रतिरोधी क्षमता बढाउन भिटामिन डी निकै उपयोगी हुन्छ, जसले भाइरस इन्फेक्सनसँग लड्ने क्षमता बढाउनुका साथै प्रतिरक्षा मोडालिटीमा फरक पार्ने भएकाले कोभिड–१९ का कारण हुने सुन्निने समस्या कम गर्न मद्दत गर्छ । कोरोनाले श्वास–प्रश्वासमा असर पु¥याउँछ । सामान्यतया, प्रतिरोधी क्षमता कम भएका व्यक्तिमा यसको जोखिम बढी हुने गर्छ । कोरोना नियन्त्रणका लागि भइरहेका अभ्यासमा भिटामिन डीको प्रभावकारीतामाथि पनि विभिन्न अध्ययन गरिएका छन् ।

-अध्ययनअनुसार शरीरमा भिटामिन डीको मात्रा कमी भएका मानिसमा कोरोना भाइरस संक्रमण बढी भएको पाइएको छ । भिटामिन डी डिफिसियन्सी भएका व्यक्तिमा सामान्य व्यक्तिको तुलनामा छिटो सिभियर (गम्भीर) हँुदै गएको पाइएको छ । अध्ययनको क्रममा भिटामिन डी सप्लिमेन्ट दिइएका बिरामीमा श्वास–प्रश्वासको समस्यामा सुधार आएको थियो । भिटामिन डीको अति नै कमी भएका वयस्कमा कोरोना संक्रमण जटिल बनेको पाइयो ।

-भिटामिन डीको स्तर र साइटोकाइन स्टोर्मबीच गरिएको अध्ययनअनुसार भिटामिन डीको कमी भएका व्यक्तिको मृत्युदर बढी भएको पाइएको छ । चीन, फ्रान्स, जर्मनी, इटाली, इरान, दक्षिण कोरिया, स्पेन, स्विट्जरल्यान्ड, बेलायत र अमेरिकाका विभिन्न अस्पतालमा गरिएकोे अध्ययन विश्लेषण गर्दा अन्य बिरामीभन्दा भिटामिन डी कमी भएका बिरामीको मृत्युदर उच्च रहेको पाइएको छ ।

भिटामिन डीको स्तर र साइटोकाइन स्टोर्मबीच सम्बन्ध

-साइटोकाइन साना प्रोटिन हुन्, जुन विभिन्न कोषिकामा उत्पादन हुन्छ । साइटोकाइनले प्रतिरोधी क्षमतालाई बढाइदिन्छ । कोरोना भाइरसले फोक्सोमा आक्रमण गर्दा साइटोकाइन स्टोर्मले प्रतिरोधी कोषलाई लड्न आकर्षित गर्छ । सामान्यतया, युवामा प्रतिरोधी क्षमता विकसिक भइसकेको हँुदैन, फलस्वरूप शरीरमा साइटोकाइनको उत्पादन पनि कम हुने भएकाले संक्रमणबाट बढी प्रभावित भएको पाइँदैन । शरीरमा अत्यधिक साइटोकाइन उत्पादन हुँदा कोष सुन्निने भएकाले संक्रमणले छिटो असर पु¥याउँछ । कोभिड–१९ मा मात्र नभई सार्स कोभिड, मार्स कोभिडजस्ता संक्रमणमा पनि साइटोकाइनले असर पु¥याइरहेको हुन्छ । साइटोकाइनले प्रतिरोधी क्षमतालाई गलत दिशामा लैजाने हुँदा श्वास–प्रश्वासमा समस्या आउने र मृत्यु हुनेजस्ता जटिलता निम्तिन्छन् । भिटामिड डीले प्रतिरक्षा प्रणाली बढाउनुका साथै सक्रिय हुनबाट बचाँउछ ।

घाम बढी लाग्ने क्षेत्रमा मृत्युदर कम

-एजिङ क्लिनिकल तथा प्रायोगिक अनुसन्धानद्वारा प्रकाशित एक अध्ययनअनुसार, भिटामिन डीको प्रमुख स्रोत घाम बढी लाग्ने क्षेत्रमा कोरोना संक्रमणको मृत्युदर कम पाइएको छ । अध्ययनले उत्तरी युरोपियन देशहरूलाई लक्षित गर्दै सूर्यको किरण बढी पर्ने देशमा तुलनात्मक रूपमा मृत्युदर कम भएको पुष्टि गरेको हो । तर, भिटामिन डीले शरीरमा भाइरसविरुद्ध लड्ने क्षमता मात्र विकास गर्ने भएकाले संक्रमणबाट जोगिन यो मात्र विकल्प होइन । सामान्यतया, सूर्यको किरणका साथै खानपानमार्फत प्राप्त हुने भिटामिन डीले मात्रै मृत्युदरलाई कम गर्न सक्दैन । प्रतिरोधी क्षमता बढाउनकै लागि अनावश्यक रूपमा भिटामिन डीको सप्लिमेन्ट प्रयोगमा ल्याउनु पनि उचित हुँदैन । शरीरमा भिटामिन डीको मात्रा अत्यधिक हुँदा अन्य समस्यासमेत देखापर्न सक्छन् । तसर्थ, संक्रमणबाट जोगिन स्वस्थ खानपान र जीवनशैलीका ध्यान दिन आवश्यक छ ।

(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय