मेलवर्न । गैरआवासीय नेपाली संघ (एनआरएनए) भिक्टोरियाको आयोजनामा आगामी शनिवार तेस्रो फुटसल प्रतियोगिता हुँदैछ ।
कंडेल कन्सलटेन्सीको मुख्य प्रायोजनामा हुन लागिरहेको उक्त प्रतियोगितामा १२ समूह सहभागिता रहने भएको छ । विहिबार एक पत्रकार सम्मेलन आयोजना गर्दै एनआरएनएले रेकवेस्ट बेब्रुकमा उक्त प्रतियोगिता हुन लागेको जानकारी दिएको हो ।
उक्त प्रतियोगितामा चन्द्र सूर्य एफसी, एपीङ्ग ओलर्ट नेपाली कम्युनिटी, गुल्मी टाइगर्स, रोयल वेस्टर्न क्लब एभरग्रिन, रोयल वेस्टर्न क्लब ब्ल्यु, रोयल वेस्टर्न क्लब ह्वाइट, यूनाइटेड एफसी, हिमालयन टाइगर्स, थन्डर ड्रागन ए, थन्डर ड्रागन बी, रोयल एफसी र येती एफसी वीच उपाधिको निम्ती प्रतिस्पर्धा हुने प्रतियोगिताका टेक्निक एडभाइजर तथा एनआरएनए भिक्टोरिया सदस्य विजय दाहालले जानकारी गराए ।
प्रतियोगितामा उत्कृष्ट हुने टोलीलाई ट्रफी, मेडल र नगद पुरस्कारको व्यवस्था रहेको छ भने उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै एनआरएनए भिक्टोरियाका अध्यक्ष हरि खड्काले एनआरएनएको वर्तमान कार्यकालको सम्भवत् अन्तिम कार्यक्रमको रुपमा यस फुटसल प्रतियोगिता गर्न लागिएको भन्दै यस प्रकारका कार्यक्रम मार्फत यहाँको नेपाली समुदायलाई चलायमान गराउन मद्धत पुग्ने विश्वास व्यक्त गरे । त्यस्तै प्रतियोगिताका मुख्य प्रायोजक कँडेल कन्सल्टेन्सीका डाइरेक्टर राज कँडेलले विशेषगरी युवाहरुलाई खेल मार्फत एकजुट गर्ने अभियानमा आफूहरुको निरन्तर साथ रहने भन्दै यसै अभियान अन्तरर्गत आफूहरुले कंडेल कप पनि आयोजना गर्दै आइरहेको जानकारी दिए ।
सो अवसरमा एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष तथा भिक्टोरिया राज्य संयोजक हरि खड्का, उपसंयोजक नारायण कटुवाल, सदस्य विजय दाहाल, खेल विभाग प्रमुख गोविन्द पाठक, युवा समिति उपसंयोजक ससेन्द्र केसी, युवा समिति सदस्य गौरव सुनार लगायत उपस्थित रहेका थिए । अध्यक्ष खड्काको सभापतित्व रहेको पत्रकार सम्मेलन कार्यक्रममा मुख्य प्रायोजक कंडेल कन्सलटेन्टसीका निर्देशक राज कंडेलको प्रमुख आतिथ्यता रहेको थियो भने ससेन्द्र केसीले सञ्चालन गरेका थिए ।