मेलवर्न । खेलकूद र नेपाली संस्कृति प्रवर्र्धनमा जोड दिदै आएको हाम्रो कम्युनिटीले आयोजना गरेको आईसीएस कपको तयारी करिब पूरा भएको छ ।आईसीएस इन्टरनेशनल एजुकेशन एन्ड माइग्रेसन शीर्ष प्रयोजक रहेको ३५ बर्ष माथिका खेलाडी सहभागि हुने भलिवल प्रतियोगिता आगामी शनिवार हुँदैछ ।
ट्रफी सार्वजनिक गर्दै प्रतियोगितामा सहभागि हुने समूहहरुको समूह विभाजन समेत गरिएको छ । जस अन्तर्गत पूल ए मा हाम्रो कम्युनिटी रेड, हिमालयन टाइगर्स, एनसिटीसी भिक्टोरिया, हाम्रो कम्युनिटी एल्लोले खेल्नेछन् भने पूल बी मा हाम्रो कम्युनिटी ब्लू (वर्णमाला), क्र्यानबर्न ज्ञानज्योती पाठशाला, गल्कोट समाज र क्र्यागीबर्न ब्रिगेडले खेल्नेछन् ।
क्यारोलाइन स्प्रिंग्स लिजर सेन्टरमा हुने प्रतियोगितामा ३५ बर्ष पुगेका खेलाडीहरु मात्र सहभागि हुन पाउने छन् । उक्त अवसरमा ८ समूहहरुवीच मैत्रीपूर्ण प्रतिस्पर्धा हुने भएको कम्युनिटीका सचिव शंकर अर्यालले जानकारी दिए ।
प्रथम हुने समूहलाई १५०० डलर, द्वितीय हुने समूहलाई ५ सय डलर पुरस्कारको व्यवस्था गरिएको छ । जसमा ३ सय डलर प्रवेश शुल्क रहेको छ ।
त्यस्तै उत्कृष्ट हुने टोलीलाई ट्रफी, मेडल समेत प्रदान गरिनेछ भने उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको जनाइएको छ । कम्युनिटीले प्रतियोगिताको लागि महेश के श्रेष्ठलाई मुख्य कोचको रुपमा नियुक्त पनि गरिसकेको छ ।
अध्यक्ष प्रकाश अर्यालले यस प्रकारका कार्यक्रम मार्फत यहाँको नेपाली समुदायलाई चलायमान गराउन मद्धत पुग्ने विश्वास व्यक्त गरे । त्यस्तै प्रतियोगिताका मुख्य प्रायोजक आईसीएस इन्टरनेशनलका डाइरेक्टर केदार सापकोटाले विशेषगरी ३५ बर्ष माथिका खेलाडीहरुलाई खेल मार्फत एकजुट गर्ने अभियानमा आफूहरुको निरन्तर साथ रहने भन्दै हाम्रो कम्युनिटीसँग सहकार्य गर्ने अवसरको लागि आभार समेत व्यक्त गरेका छन् ।
यस्तै सहप्रायोजक यात्रा द कनेक्सनका डाइरेक्टर सबिन अधिकारीले खेलकुदसँग यहाँको नेपाली समुदायलाई जोड्ने यस कार्यक्रम सफलताको कामना गर्दै कम्पनीको तर्फबाट सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरे ।