मेलबर्न। विक्रम कुँवरले एनआरएनए भिक्टोरिया युवा सहसंयोजक पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। कुँवरले आफ्नो उम्मेदवारी घोषणा गर्दै, नेपाली युवापुस्ताका लागि मार्गदर्शन र अवसर सिर्जना गर्ने उद्देश्य राखेको बताए। आफ्नो उम्मेदवारी बारे उनले भने, ‘यो अवसर हामी सबैको लागि सामूहिक योगदानको क्षण हो, र म सबैको साथ र समर्थनको अपेक्षा गर्छु।’
कुँवरले कोभिड महामारीको समयमा, उनी सहितको टोलीले ५० भन्दा बढी विद्यार्थीसम्म खाद्यान्न र आवश्यक सामग्री पुर्याउने कार्य गरेका थिए। त्यसपछि, विक्रमले फार वेस्टर्न नेपालिज सोसाइटी अफ विक्टोरियामा सहसचिवको रूपमा २०२३–२०२५ कार्यकालमा सेवा पुर्याएका थिए, र अहिले सचिवको पदमा कार्यरत छन्।
उनका प्रमुख एजेन्डाहरूमा युवा नेतृत्व, यहाँ पढिरहेका विद्यार्थीहरुलाई मार्गदर्शन, मानसिक स्वास्थ्य र स्वास्थ्य जागरूकता, सांस्कृतिक र खेलकुद कार्यक्रमहरू, र डिजिटल सुरक्षा शिक्षा समावेश छन्। विक्रमले नेपाली युवाहरूका लागि युवासम्मेलन, स्टार्टअप समर्थन, र मानसिक स्वास्थ्य सेमिनारहरू सञ्चालन गर्ने आफ्नो योजना साझा गरेका छन्। यसैगरी, उनले युवाहरूको आवाजलाई मजबुत बनाउने, पारदर्शी र समावेशी नेतृत्व सुनिश्चित गर्ने वचन दिएका छन्।
उम्मेदवार विक्रम कुँवरले एनआरएनए भिक्टोरिया चुनाव २०२५–२०२७ का लागि युवाहरूको सशक्तिकरण र अवसरको सृजनामा महत्वपूर्ण भूमिका निभाउने लक्ष्य राखेको बताए । उनले भने, ‘हामी सबै मिलेर नेपाली समुदायलाई एकजुट र सशक्त बनाउन लागिपर्छौं।’
विक्रम कुँवरले २०२५ को जुलाई २६ मा हुने निर्वाचनमा नेपाली समुदायसँग मतदान र सहयोगको आह्वान गर्दै, ‘युवाका लागि, युवाबाट, हामी सँगै उठौं‘ भन्ने नारा अगाडी सारेका छन् ।