काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वर बाहेकका ठाउँमा पनि कर्फ्यू आदेश जारी गरेको छ । मध्यान्ह साढे १२ बजेदेखि बानेश्वर क्षेत्रमा लगाएको कर्फ्यू राति १० बजेसम्म लागू हुने गरी विस्तार गरिएको हो ।
जेनजीको प्रदर्शनको क्रममा प्रदर्शनकारी संसद भवन प्रवेश गरेर अवस्था तनावग्रस्त बनेसँगै कर्फ्यू लगाइएको हो । यस क्षेत्रमा सेना पनि परिचालन गरिएको छ ।
कर्फ्यू आदेश तोकिएको ठाउँमा भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ पूर्णरूपमा निषेध गरिएको छ । कर्फ्यू लगाइएका ठाउँहरूमा शीतल निवास, उपराष्ट्रपति कार्यालय, नारायणहिटी दरबार संग्रहालय, सिंहदरबार परिसर, प्रधानमन्त्री निवास बालुवाटार र संसद भवन नयाँ बानेश्वर लगायतका क्षेत्र छन् ।

