काठमाडौं । दुबई एयर शो मा भारतीय वायु सेनाको विमान दुर्घटनाग्रस्त भएको छ ।
यूएईको अल मकतूम विमानस्थलमा जारी दुबई एयर शो अन्तर्गत एक परीक्षण उडानमा भारतीय वायु सेनाको तेजस फाइटर जेट दुर्घटनाग्रस्त भएको हो ।
शुक्रबार दुबईको स्थानीय समय अनुसार २:१० बजे विमान दुर्घटना भएको समाचार संस्था एपीले जनाएको छ ।
हजारौं दर्शक दुबई एयर शो को अवलोकनका लागि जम्मा भएका बेला भारतको हल्का लडाकू विमान एलसीए तेजस परीक्षण उडानका क्रममा अचानक दुर्घटना भएको थियो ।
उडान भरेर शानदार मोड लिइरहेको लडाकू विमान के कारण दुर्घटना भयो भन्ने खुलेको छैन । दुर्घटनापछि जमिनमा खसेर विमानमा आगलागी भएको भिडियोमा सार्वजनिक भएको छ ।
दुर्घटनामा पाइलटको मृत्यु भएको भारतीय वायु सेनाले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै जानकारी दिएको छ ।
दुबई एयर शो विश्वकै प्रमुख एभिएसन प्रदर्शनीमध्ये एक हो । विश्वभरका विभिन्न एयरलाइन्स र सैन्य उत्पादक कम्पनीले आफ्नो प्रविधि प्रदर्शन गर्न शो सहभागिता जनाउने गर्छन् ।
दुर्घटनापछि भारतीय वायु सेनाको विमान तेजसको सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ ।
हिन्दुस्तान एरोनोटिकल लिमिटेड (एचएएल) ले निर्माण गरेको विकास गरेको यो विमान ४.५ पीढीको हो, जसअनुसार विमानमा नविनतम प्रविधि प्रयोग गरिएको भन्ने बुझिन्छ ।
तेजस छोटो र हल्का विमान हो, जसले सुपसोनिक अर्थात् ध्वनीको गतिमा उडान भर्ने क्षमता राख्छ ।

