बारा । बाराको सिमरामा बुधबारदेखि यताको तनाव अन्त्य गर्न आन्दोलनरत जेनजीहरू सहमत भएका छन् ।
शुक्रबार पथलैयास्थित सशस्त्र प्रहरी बलको प्राविधिक शिक्षालयमा भएको प्रशासन र जेनजीबीचको वार्तामा स्थानीय प्रशासनले घटनामा संलग्नहरूलाई कारबाही गर्ने विषयमा आश्वस्त पारेपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जेनजी युवाहरूले बताएका छन् ।
बाराका जेनजी संयोजक सम्राट उपाध्यायले नेकपा एमालेका कार्यकर्ताबाट आफूहरूमाथि भएको आक्रमण भएको भन्दै दोषीलाई कारबाही गर्ने, घाइतेहरूको उपचारमा समन्वय गर्ने र जेनजी युवाहरूको सुरक्षा गर्ने जस्ता विषयमा प्रमुख जिल्ला अधिकारीबाट प्रतिबद्धता आएपछि आफूहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेको बताए ।
‘हामी प्रमुख जिल्ला अधिकारीको प्रतिबद्धता सुनेर ब्याक भएका छौं, लिखित सहमति गरिएको छैन,’ उपाध्यायले भने ।
शनिबार र आइतबार दुई दिन पर्खेर प्रशासनले सहमति कार्यान्वयनमा आलटाल गरे आन्दोलनका कार्यक्रम फेरि सार्वजनिक गर्ने उपाध्यायको भनाइ छ ।
‘हामी सोमबारसम्म हेर्छौं, उहाँहरूको प्रतिबद्धता कार्यान्वयन हुने देखिएन भने सडकबाटै न्याय माग्छौं,’ उपाध्यायले भने ।

