एमालेको ‘नेसनल भोलेन्टियर फोर्स’ गठन, कमान्डरमा पुष्पराज श्रेष्ठ

काठमाडौँ । नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) केन्द्रीय कमान्ड घोषणा गरेको छ । काठमाडौँको माइतीघरमा आयोजित कार्यक्रममा एमाले जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले फोर्सको ११ सदस्यीय केन्द्रीय कमान्ड घोषणा गरेका हुन् ।

जनाको केन्द्रीय कमान्डर फोर्सको प्रमुखमा पुष्पराज श्रेष्ठ रहेका छन् । त्यस्तै फोर्समा दुई जना सहकमाण्डर रहने छन् । कमान्डरका सदस्यहरूमा केशव रोका, लव अधिकारी यादव,जयराम लामा, विदुर शर्मा, सागर भट्ट, सञ्जीव धिताल, विनिता काफ्ले लगायत रहेका छन् ।

पुष्पराज श्रेष्ठ : गुण्डागर्दीबाट उदय, वाईसीएल हुँदै एमालेको भोलेन्टियर फोर्स कमाण्डर

नेकपा (एमाले)ले घोषणा गरेको ‘नेसनल भोलेन्टियर फोर्स’का कमाण्डर पुष्पराज श्रेष्ठ गुण्डागर्दीबाट उदाएका व्यक्ति हुन् ।सिन्धुलीको कमलामाई नगरपालिका–५ घर भएका श्रेष्ठ एक समय सिन्धुलीमा चलेका गुण्डा थिए । तत्कालीन विद्रोही माओवादी शान्ति प्रक्रियामा आएपछि गुण्डागर्दीमा संरक्षण खोज्दै श्रेष्ठ तत्कालीन नेकपा (माओवादी)मा प्रवेश गरेका थिए ।

२०७५ भदौमा प्रहरीले उनलाई काठमाडौँको रातोपुलबाट पक्राउ गरेको थियो । त्यसबेला उनको परिचय थियो,‘वाईसीएलको केन्द्रीय सदस्य ।’

ठेकेदारलाई धम्क्याएको आरोपमा उनलाई तत्कालीन अपराध महाशाखाको टोलीले पक्राउ गरेर अनुसन्धान गरेको थियो । राजधानीमा घर निर्माणको काम गर्ने ठेकेदारलाई उनले पेस्तोल देखाएर ‘धम्क्याएको’ त्यसबेला उनीमाथि अनुसन्धान गरेका प्रहरी अधिकृतहरू बताउँछन् ।

२०७५ मा नेकपा (माओवादी) केन्द्र र नेकपा (एमाले) मिलेर नेपाल कम्युनिष्ट पार्टी बन्यो । त्यसबेला पनि युवा सङ्घमा अटाएका श्रेष्ठ सिन्धुली जिल्लाको सह–इन्चार्ज भए ।

नेकपा फुटेपछि नेकपा (एमाले) तिर लागे । २०७५ सम्ममा नै उनले ४ वटा ज्यानमार्ने उद्योग, एउटा अपहरण र दुई वटा सार्वजनिक मुद्दामा सजाय भुक्तान गरिसकेका थिए ।

२०७७ मा श्रेष्ठ तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नजिक भए । ठेक्कापट्टा, असुली र गुण्डागर्दीमा संलग्न श्रेष्ठ त्यसबेला ‘बादल’को सचिवालयमा कार्यरत युवा सङ्घका तत्कालीन अगुवा कार्यकर्ता बिरु तामाङ मार्फत थापासँग नजिकिएको एमालेका कार्यकर्ताहरू बताउँछन् ।

पछिल्लो समय उनी नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतमार्फत एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकट भएका हुन् ।

ओलीको उपस्थितिमा उनलाई आज बबरमहल स्थित कार्की ब्याङ्क्वेटमा आयोजित समारोहमा नेता भानुभक्त ढकालले नेशनल भोलेन्टियर फोर्सको संयोजक घोषणा गरे । यसअघि श्रेष्ठ एमालेको युवा दस्ता युथ फोर्समा आबद्ध थिए ।

प्रहरीको सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम)मा उनीविरुद्ध ७ वटा फौजदारी मुद्दा चलेको देखिन्छ । श्रेष्ठले काठमाडौँमा बर्षैपिच्छे दसैँतिहारमा जुवाखाल चलाउने गरेको एमालेकै कार्यकर्ताहरू बताउँछन् ।

गत वर्ष उपत्यका प्रहरी कार्यालयको प्रमुख हुँदा नयाँ बानेश्वरमा उनले जुवाखाल सञ्चालन गरेको सुराक पाएपछि तत्कालीन उपत्यका प्रहरी प्रमुख दिपक थापाले छापा मार्न प्रहरी परिचालन गरेका थिए । तर, प्रहरी भित्रैबाट सूचना चुहिएपछि श्रेष्ठले जुवाखाल सारेको प्रहरी अधिकृतहरू बताउँछन् ।

उनको जुवा खेलाउने धन्दामा उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरीका एक जना नायव निरीक्षक र सिन्धुली घर भएका एक जना जवानले सघाउँदै आएका छन् ।

यस वर्षको दसैँ तिहारमा पनि उनले जुवाखाल सञ्चालन गरेको प्रहरीका अधिकृतहरू बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय