काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनाव प्रचारका लागि गृहजिल्ला डडेलधुरा पुगेका छन् । देउवाको स्वागतका लागि कांग्रेसका कार्यकर्ता सँगै स्वतन्त्र उम्मेदवार सागर ढकाल पनि लाइन लागेका छन् । राजनीतिक संस्कार देखाउँदै ढकालले आफैले हराउने भनेर चुनावमा प्रतिस्पर्धा गरेका देउवालाई स्वागत गर्न लाइनमा बसेका हुन् ।
उनी माला लिएर देउवाको स्वागतका लागि लाइनमा उभिएका छन् । २०४८ सालदेखि लगातार डडेलधुराबाट चुनाव जित्दै आएका देउवालाई यसपटक हराउने भन्दै ढकालले स्वतन्त्र उम्मेदवारी दिएर चुनावी अभियानमा छन्।
ढकालले राजनीतिक संस्कार देखाउन स्वागतमा उभिएको बताएका छन् । ‘देउवालाई प्रधानमन्त्रीका रूपमा स्वागत गर्न आएको हुँ, सभामै बोल्न समय मागेको छु’ उनले भने ।
डडेलधुरामा बिगत तीन महिनादेखि ढकालले मत मागिरहेका छन् । बीबीसी साझा सवाल कार्यक्रममा प्रश्न सोध्ने क्रममा देउवासँग नोकझोक भएपछि ढकाल चर्चामा आएका थिए ।