काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज बसेको गण्डकी प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गर्नुभएको छ ।
संविधानको धारा १६८ को उपधारा २ अनुसार पुस २५ गते मुख्यमन्त्री नियुक्ति हुनुभएका अधिकारीले संविधानको धारा १६८ को उपधारा ४ अनुसार बैठकमा विश्वासको मत माग गर्नुभएको थियो । ६० सदस्यमध्ये बैठकमा ५८ जना सहभागी थिए । जसमा ३१ सांसदले पक्षमा र २७ ले विपक्षमा मत दिएका छन् ।
६० सदस्यीय प्रदेशसभामा अधिकारीलाई स्वतन्त्रसहित ३३ सांसदको समर्थनमा प्रदेश प्रमुख पृथ्वीमान गुरूङले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । विश्वासको मत लिदा भने राजीव गुरुङ सहभागी हुनुभएन । सभा ज्येष्ठ सदस्य मित्रलाल बस्यालको अध्यक्षतामा बसेको थियो ।

