प्रदेश १ को उपसभामुखमा सिर्जना दनुवार निर्वाचित

काठमाडौं । प्रदेश १ को उपसभामुख पदमा नेकपा एमालेकी ४६ वर्षीया सिर्जना दनुवार निर्वाचित भएकी छिन् । प्रदेशसभा सचिवालयमा भएको उपसभामुख निर्वाचन प्रक्रियामा दनुवारको पक्षमा ५७ मत परेको हो ।

उनलाई उपसभामुख पदमा मत दिन्न भन्ने पक्षमा ३३ मत परेको छ । मतदानमा ९० जना सांसदहरुको सहभागिता थियो । दनुवारको प्रस्तावकमा माओवादी केन्द्रका प्रदेश सांसद नारायण बुर्जामगर र समर्थकमा राप्रपाकी सबिजा बजगाईँ रहेका थिए ।

प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सदस्य गरी ९३ सदस्य रहेका छन् । सत्ता गठबन्धन दल एमाले, माओवादी, राप्रपा र जसपाको गरी ६० मत हुन्छ । यद्यपि सभामुख तटस्थ बसे भने एमालेका दुई सांसद अनुपस्थित रहे ।

यसैबीच यसअघि उपसभामुख पदकै लागि भएको पहिलो चरणको निर्वाचनमा नेपाली कांग्रेसकी सांसद लिलाकुमारी राईको पक्षमा ३३ मत परेको थियो । उनको विपक्षमा ५७ मत परेपछि राई उपसभामुखमा पराजित भएको सभामुख बाबुराम गौतमले घोषणा गरेका थिए ।

उपसभामुखमा निर्वाचित दनुवार भने उदयपुरबाट समानुपातिक कोटाबाट निर्वाचित भएकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय