काठमाडौं । नेपाल मजदुर किसान पार्टी नेमकिपाका सांसद प्रेम सुवालले आफ्नो पार्टीलाई प्रमुख विपक्षी दलको मान्यता माग गर्दै सभामुख देवराज घिमिरेलाई निवेदन दिनुभएको छ ।
आज प्रतिनिधिसभाको बैठकमा उहाँले आफ्नो पार्टी प्रधानमन्त्रीलाई विश्वासको मत नदिनेहरू मध्ये सबैभन्दा ठूलो दल भएको उल्लेख गर्दै विपक्षी दलको मान्यता माग गर्नुभएको हो । सोही बेहोराको निवेदन उहाँले संघीय संसद सचिवालयका महासचिव भरतराज गौतम मार्फत सभामुखलाई दिनुभएको हो ।
काँग्रेसले आफूलाई प्रमुख प्रतिपक्षी दलको रुपमा प्रस्तुत गरेको भन्दै उहाँले आपत्ती जनाउनुभयो । प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता नलिएसम्म काँग्रेसलाई प्रमुख विपक्षी दल भन्न मिल्दैन, उहाँले भन्नुभयो ।
सांसद सुवालले आफ्नो पार्टीलाई प्रमुख विपक्षी दलको मान्यता दिन माग गर्दा संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ अनुसार दाबी गर्नुभएको छ । आम चुनावमा समानुपातिकतर्फ नेमकिपाले ७५ हजार १६८ मत पाएको थियो भने राष्ट्रिय जनमोर्चाले ४६ हजार ५०४ मत पाएको थियो ।
समानुपातिकतर्फ मत पाएकोलाई आधार मानेर नेमकिपाले आफूलाई ११ औं ठूलो दल भनेको छ । अगाडिका १० वटा दलले सरकारलाई समर्थन गरेकाले प्रमुख प्रतिपक्षी दलको मान्यता पाउनुपर्ने नेमकिपाको माग छ ।

