काठमाडौं । नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट संसद तथा सरकारबाट बहिर्गमनमा परेका निवर्तमान गृहमन्त्री रवि लामिछाने पुनःनागरिकता लिनको लागि काठमाडौं जिल्ला प्रशासन कार्यालय पुग्नुभएको छ ।
लामिछाने अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनःप्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालयमा पुग्नुभएको हो ।
लामिछाने आउनु अघिदेखि नै काठमाडौ जिल्ला प्रशासन कार्यालयमा समर्थकहरुको भिड लागेको छ ।
नागरिकता पुनः प्राप्त गर्नका लागि आवदेन सम्बन्धि सबै कागजातहरु तयार गरिएको लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिनुभयो ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले लामिछानेलाई आजै नागरिकताको प्रतिलिपि उपलब्ध गराउन सक्ने बुझिएको छ ।
अमेरिकी नागरिकता त्यागे पनि नेपालको नागरिकता पुनस्प्राप्तिको प्रक्रिया पूरा नगरी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति तथा सांसद बनेका लामिछानेको नागरिकता अवैध ठहर भएपछि उहाँको सांसदसँगै मन्त्री पद सर्वोच्च अदालतको संवैधानिक इजलासले खारेज गरिदिएको थियो ।
सांसद र मन्त्री पदसँगै पार्टी प्रमुखको पद पनि गुमेपछि राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यबाहक सभापतिको जिम्मा डोलप्रसाद अर्यालले पाउनु भएको छ ।
लामिछानेले चुनाव जितेको चितवनको क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने भएको छ ।

