काठमाडौं। रवि लामिछानेले नेपाली नागरिकता प्राप्त गरेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट आइतबार नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा गरेर नागरिकता प्राप्त गरेका हुन्।
लामिछानेले अमेरिकाको नागरिकताको प्रमाणपत्र त्यागिसकेको र त्यसको निस्सा पाइसकेकाले उक्त निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाएर प्रक्रिया पूरा गरी नयाँ नागरिकता पाएको उनको सचिवालय जनाएको छ। लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले सर्वोच्चको आदेश अनुसार लामिछानेको पुनः नागरिकता कायम भएको जानकारी दिए।
शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले उनले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि कानुनी प्रक्रिया पूरा नगरेको ठहर गर्दै सांसद पद खारेज गरेको थियो। मंसिर ४ मा सम्पन्न निर्वाचनमा लामिछाने चितवन-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

