रास्वपा सरकारबाट नबाहिरियोस् भन्ने पक्षमा प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरियोस् भन्नेमा आफू भएको बताउनुभएको छ पदाधिकारी बैठकपछि निस्कने क्रममा सञ्चारकर्मीसँग प्रचण्डले आफूहरू सल्लाहमै भएको र गृह मन्त्रालय नपाए पनि सरकारबाट रास्वपा नबाहिरियोस् भन्नेमा आफूहरू रहेको बताउनुभयो ।
‘हामी सल्लाह गर्दैछौँ । सकेसम्म रास्वपा सरकारमा इन्गेज भइराख्ने यो नटुटोस् भन्ने नै मेरो कोसिस छ,’ प्रचण्डले बैठकपछि भन्नुभयो, ‘गृह मन्त्रालय रास्वपालाई दिनुअघि अदालतको पूर्णपाठ कुर्नुपर्छ भन्ने धेरैको सुझाव छ ।’
रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्रीसँग भेट गर्दै गृह मन्त्रालय आफूहरूलाई दिन माग गर्नुभएको थियो। गृह नदिए सरकारबाटै फिर्ता हुने चेतावनी उहाँले दिनुभएको थियो ।
तर माओवादीभित्र गृह आफ्नै दलले राख्नुपर्ने दबाब बढेको छ । नागरिकता र पासपोर्टमा विवादित बनेका गैरसांसद रविलाई कुनै हालतमा गृह मन्त्रालय दिन नहुने दबाब माओवादीभित्रै छ ।
यता एमाले अध्यक्ष केपी ओलीले रविलाई गृहमन्त्री बनाउन दबाब दिनुभएको छ। पार्टी पदाधिकारीको बैठकमा पनि प्रचण्डले रविलाई गृहमन्त्री बनाउन दबाब आएको बताउनुभएको थियो।
बैठकमा प्रधानमन्त्री प्रचण्डले रविको नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएसम्म कसैलाई पनि गृहमन्त्री नबनाउने बताउनुभएको थियो। बैठकपछि उपाध्यक्ष कृष्णप्रसाद महराले सर्वोच्चको पूर्णपाठ नआएसम्म गृहमन्त्रीबारे निर्णय नहुने जानकारी दिनुभयो ।
‘सर्वोच्च अदालतको पूर्णपाठ नआउँदासम्म गृहमन्त्रीबारे थप निर्णय हुँदैन भन्ने कुराकानी भएको छ’ बैठकपछि महराले भन्नुभयो, ‘अहिले गृहमन्त्रीको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्नुभएको छ, त्यही कायम रहन्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय