माओवादीले संगठन सुदृढीकरण र परिचालन सम्बन्धी तीन महिने अभियान चलाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले संगठन सुदृढीकरण र परिचालन सम्बन्धी तीन महिने अभियान चलाउने भएको छ ।

पार्टी महासचिव देव गुरुङले तयार गरेको प्रतिवेदनमा संगठन परिचालनका सम्बन्धमा तीन महिने अभियान चलाउने प्रस्ताव गरेका हुन् ।

‘अब तीन महिने कार्यक्रम बनाएर सबै केन्द्रीय सदस्य, जनवर्गीय संगठनका नेता र पार्टी सदस्यहरु जनताको बीचमा जाने भन्ने प्रस्ताव गरिएको छ । तीन महिनासम्म जनताकै बीचमा जाने, जनताका विकास निर्माण तथा योजनाका काम गर्ने र जनताको दुख सुखसँग साझेदारी भई काम गर्नुपर्ने छ,’ पार्टी सचिव दिनानाथ शर्माले भने, ‘जनताकै बीचमा आटो मिठो खाने, ढिँडो फाँडो खाएर काम गर्ने भन्ने छ । यतै काठमाडौं सिंहदरबार र मन्त्रालय धाउने होइन । सदरमुकाम पनि बस्ने होइन गाउँमै बसेर संगठन निर्माणमा लाग्ने भन्ने छ ।’

अब सबै केन्द्रीय सदस्यहरु गाउँमै बसेर जनताका काममा जोडिनु पर्ने प्रस्ताव गरिएको शर्माले बताए । केन्द्रीय सदस्यहरुले थानकोट काटेर काठमाडौं पस्न समेत नपाइने उनले बताए ।

सरकारका काम कारबाहीलाई जनतासँग जोडेर काम गर्न नेताहरु परिचलान हुनुपर्ने भएको छ । पार्टीका अधिकांश नेताहरु काठमाडौं र सदरमुकाम मात्रै बस्दा संगठन बिग्रेको निष्कर्ष निकाल्दै माओवादीले तीन महिने अभियान चलाउन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय