काठमाडौं । सन्दीप लामिछानेलाई खेलमा फर्काउने नेपाल क्रिकेट सङ्घ (क्यान)को निर्णयविरुद्ध माइतीघरमा विरोध प्रदर्शन भएको छ ।
किशोरी बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई खेलमा फर्काउने क्यानको निर्णयविरुद्ध माइतीघरमा विरोध प्रदर्शन भएको हो ।
क्यानले लामिछानेलाई हिजोबाट बन्द प्रशिक्षणमा सहभागी गराउने निर्णय गरेसँगै विभिन्न क्षेत्रबाट आलोचना भइरहेको छ ।
क्यानले आगामी महिना त्रिवि क्रिकेट मैदानमा हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृङ्खलाका लागि लामिछानेसँगै २० जनालाई बन्द प्रशिक्षणमा सहभागी गराएको छ ।
यसअघि क्यानले बलात्कार आरोप लागेपछि लामिछानेलाई निलम्बन गरेको थियो । पाटन उच्च अदालतबाट सफाइ पाएपछि गत मङ्गलबार बसेको क्यान बोर्ड बैठकले निलम्बन फुकुवा गरेर खेलमा फर्काउने निर्णय गरेको हो ।