काठमाडौं। राष्ट्रिय सभा उपाध्यक्षका लागि आज आइतबार मनोनयन दर्ता गरिंदैछ। संसद् सचिवालयले दिउँसो १ बजेदेखि ४ बजेसम्मको समय निर्धारण गरेको छ।
संसद् भवनको ल्होत्से हलमा प्रस्ताव दर्ताका लागि स्थान तोकिएको छ। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले माघ २३ गते सोमबार दिउँसो १२ बजे उपाध्यक्षको चयनका लागि मिति निर्धारण गरेका थिए।
त्यस्तै, सवा ४ बजे उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ। सत्ता पक्षबाट नेकपा (माओवादी केन्द्र) की नेतृ उर्मिला अर्याललको उम्मेदवारी तय भएको बुझिएको छ । तर, विपक्षी नेपाली कांग्रेस भने अझै पनि अलमलमै छ।
कांग्रेस, नेकपा (एकीकृत समाजवादी) लगायतका विपक्षी दलहरुको आइतबार बिहान बस्ने बैठकले उम्मेदवार तोक्ने छ। तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल सकिएपछि एक वर्षदेखि राष्ट्रियसभा उपाध्यक्षको पद रिक्त छ।

