एजेन्सी । टर्कीमा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा १ हजार तीन सय जनाको मृत्यु भएको छ । टर्की र सिरियाको सीमा क्षेत्रमा सोमबार गएको भुकम्पमा परी ज्यान गुमाउनेको संख्या अझै बढ्नसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकी जियोलोजिकल सर्वेका अनुसार आज बिहान ७.५ रेक्टर स्केलको भूकम्प गएको हो । टर्कीका राष्ट्रपति रेचप एर्दोआनका अनुसार भुकम्पमा परी टर्कीमा मात्रै ९ सयभन्दा बढीको मृत्यु भएको छ भने ५ हजारभन्दा बढी घाइते भएका छन् । अहिले पनि उद्धार तथा राहत कार्य जारी राखिएको छ ।
भूकम्पबाट भवनहरुमा ठूलो क्षति पुगेको र कैयौँ मानिसहरु अहिले पनि भत्किएका भवनमा पुरिएको हुनसक्ने बताइएको छ । भूकम्पपछि टर्कीमा आपतकालको घोषणा गरिएको छ। टर्कीको राजधानी अंकारासहितका सहरहरुका साथै लेबनान, सिरिया, साइप्रससम्म पनि भूकम्पको धक्का महसुस भएको थियो ।