प्रेसको बदनामीले लोकतन्त्रमाथि नै खतरा पैदा हुने गगन थापाको भनाइ

काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रेसको बदनामीले लोकतन्त्रमाथि नै खतरा पैदा हुने बताएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानमा बुधबार भएको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल विषयक विचार गोष्ठीमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र त्यसका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै यस्तो भनेका हुन्।

थापाले लोकतन्त्रमा प्रेस फ्रिडम र अभिव्यक्ति स्वतन्त्रताको आफ्नै महत्त्व हुने बताए। राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने क्रममा पत्रकार सम्मेलन गरेर पत्रकारिता क्षेत्रका विषयलाई जोड्दै दिएको अभिव्यक्ति उचित नभएको उनको भनाई थियो। थापाले प्रेस र राजनीतिक दल, नेताका बीचमा एकले अर्काको सुधारको अपेक्षा गर्नु उपयुक्त हुने बताए। उनले सबै राजनीतिक दलहरूले प्रेस स्वतन्त्रताको सम्मान गर्नुपर्ने बताए।

‘हामीले एक अर्कासँग सुधारको अपेक्षा गर्नु ठिक छ। तर‚ एकले अर्कालाई देखाइदिन्छु भनेर केही हुनेवाला छैन। कसैले केही लेख्यो भनेर पख्लास् भन्नुको अर्थ छैन। प्रेसको स्वतन्त्रता हाम्रा लागि अत्यन्तै महत्त्वपूर्ण कुरा हो,’ उनले भने, ‘प्रेसको फ्रिडमलाई हामीले ख्याल गर्नुपर्ने हुन्छ। प्रेसको फेयर हामीलाई पनि हुनुहुँदैन, र हामीले पनि देखाउनुहुँदैन। विधिको शासनमा प्रेसको आफ्नै स्थान हुन्छ।’

साथै, थापाले रास्वपाको सरकारमा सहभागिता र बहिर्गमनको औचित्यबारे प्रश्न उठाएका छन्। ‘नो नट अगेन भनेर चुनावमा लडेको पार्टी सरकारमा किन गएको? सरकारमा गएको मान्छे सरकारबाट बाहिर किन गएको ? सरकारमा किन गएको पनि बताउन नपर्ने, सरकारबाट बाहिर किन गएको पनि भन्न नपर्ने, अनि अहिले सरकारबाट बाहिर किन गएको भन्दै गर्दा हामीसँग गरेका सहमति पालना भएन। सहमति कल्ले पालना नगरेको ?,’ उनले प्रश्न गरे, ‘सहमति पालना नभएको भए समर्थन किन फिर्ता नलिएको ? हामीलाई विश्वासको मत किन दिएको भने जस्तै समर्थन फिर्ता किन नलिएको भन्ने प्रश्न उठ्दैन ? कि राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रश्न सोध्नै नहुने हो ?’

प्रतिक्रिया

सम्बन्धित खवर