काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रेसको बदनामीले लोकतन्त्रमाथि नै खतरा पैदा हुने बताउनुभएको छ ।
उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने क्रममा पत्रकार सम्मेलन गरेर नेपाली प्रेसको बदनामी हुने गरी अभिव्यक्ति दिएको भन्दै त्यसले लोकतन्त्रलाई नै कमजोर बनाउने बताउनुभयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा आज भएको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल विषयक विचार गोष्ठीमा बोल्दै काँग्रेस महामन्त्री थापाले लोकतन्त्रमा प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको आफ्नै महत्व हुने बताउनुभयो ।
उहाँले प्रेस र राजनीतिक दल, नेताका बीचमा एकले अर्काको सुधारको अपेक्षा गर्नु उपयुक्त हुने बताउनुभयो ।
राष्ट्रपतिको प्रसङ्गमा बोल्दै थापाले फेरि पनि नेकपा एमालेबाटै राष्ट्रपति निर्वाचित भए संविधानलाई दुर्घटना गराइने डर रहेको धारणा राख्नुभयो । एमालेले उठाएको राष्ट्रपतिको उम्मेदवारलाई काँग्रेसले सकेसम्म हराउनकै लागि प्रयास गर्ने उहाँको भनाई थियो ।
उहाँले अब फेरि संविधानमाथि राष्ट्रपतिबाट हुने जोखिमलाई कम गर्न काँग्रेस दत्तचित्त भएर लाग्ने बताउनुभयो ।

