काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिमबाट एमालेलाई धक्का लाग्न सुरु भएको बताएका छन्। राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादीले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने, ‘अब एमालेलाई ठूलो धक्का पर्नेवाला छ। त्यसको सुरुवात सुदूरपश्चिमबाट भएको छ।’
उनले राष्ट्रपति निर्वाचनपछि मुलुकमा नयाँ राजनीतिक परिवेश बन्ने बताए। अध्यक्ष नेपालले मुलुकको राष्ट्रिय राजनीतिमा आफूहरूको कमजोर अवस्था नरहेको दाबी गरे। उनले निर्वाचनमा सोचेजस्तो परिणाम नआए पनि निराश नहुन र हौसलालाई बुलन्द राख्न नेता कार्यकर्तालाई निर्देशन दिए।

