भिभिआइपीको सवारीलाई सरलीकृत गर्न सभामुखमार्फत ध्यानाकर्षण

काठमाडौं। प्रतिनिधिसभाको आज बसेको बैठकको शून्य समयमा सांसदहरूले भिभिआइपीको सवारीलाई सरलीकृत गर्न सभामुखमार्फत ध्यानाकर्षण गराएका छन्। आज बसेको बैठकको शून्य समयमा सांसद रघुजी पन्तले शुक्रबार राष्ट्रपतिको संघीय संसद्को संयुक्त बैठकलाई प्रतिनिधिसभाको निर्वाचनपछि पहिलो पटक सम्बोधन गर्न आउने र जाने क्रममा भएको सवारी अवरोधपछि चौतर्फी टिप्पणी भएको बताए।

सांसद पन्तले राष्ट्रपतिको सवारीको पटक-पटक विरोध भइरहेको भन्दै सवारीलाई सरलीकृत गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। उनले भने, ‘म आफै पनि एक घण्टा सवारी जाममा परे। जनताले आक्रोश पोख्न थालेपछि म सांसद हो भन्ने परिचय दिनसमेत असहज महसुस भयो। यो समस्या एक पटकको होइन। यो काम सुरक्षा संयन्त्रको हो। सवारीसँग सम्बन्धित मापदण्ड लोकतन्त्र अनुकूल सर्वसाधारणलाई मर्का नपर्ने गरी सरलीकृत गरिनुपर्छ।’

सांसद मुक्ताकुमारी यादवले राष्ट्रपति सवारीलाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिए। सवारी व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीले स्वास्थ्यकर्मीमाथि हातपात गरेको भन्दै उनले आपत्ति जनाए। भिभिआइपीको सवारीले सर्वसाधारणलाई मर्कामा पार्न नहुने भन्दै सांसद रामहरि खतिवडाले भनाइ व्यक्त गरे।

बैठकमा सांसद महेशकुमार बर्तौलाले किसानले आवश्यक मल र कृषि उपजले बजार नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराए। उनले भने, ‘मकवानपुर क्षेत्र नं २ का किसानले आवश्यक मल पाउन सकेको छैनन्। अनुदानका मल बिचौलीका कारण महँगोमा किन्न बाध्य छन्। उनीहरूले उत्पादन गरेका कृषि उपजले न बजार पाएको छ न मूल्य।’ उनले औद्योगिक क्षेत्रको निर्माणलाई तीव्रता दिनसमेत माग गरे।

सांसद मेनकाकुमारी पोखरेलले किसानका उत्पादनलाई प्राथमिकतामा राखेर बजारीकरण गर्न माग गरिन्। सांसद राजकिशोर यादवले किसान र व्यापारी चर्को ब्याजदरका कारण मर्कामा परेको बताए। उनले भने, ‘व्यापारी बैंकबाट लिएको ऋण तिर्न नसक्दा आत्महत्याको बाटो रोजिरहेका छन्। किसान मल र बजार अभावका कारण उत्पादन सडकमा फाल्न बाध्य छन् । जनता र राज्यबीच विश्वासको खाडल कम गर्न राज्यले गरेको वाचा पूरा गर्न सक्नपर्छ।’

सांसद रुपा सो शि चौधरीले किसानले कृषि उपजको मूल्य नपाएको तर बाह्य देशबाट कृषि उपजको आयात बढिरहेकोतर्फ ध्यानाकर्षण गराइन्। सांसद रेखा यादवले सिमानाका किसानलाई नेपाली सुरक्षाकर्मीबाटै अप्ठ्यारो भइरहेको बताइन्। बैठकमा सांसद रामहरि खतिवडाले भूकम्प पीडितलाई सरकारले उपलब्ध गराउने भनिएको रकम उपलब्ध नभएकोतर्फ ध्यानाकर्षण गराए। उनले प्रत्येक गाउँपालिकामा मोटररेबल सडक निर्माण गर्नुपर्नेमा जोड दिए।

सांसद ज्ञानबहादुर शाहीले शैक्षिक सत्र सुरु भएसँगै देशभरका विद्यालयमा पुस्तक पुग्नुपर्ने माग राखे। उनले भने, ‘फागुन १ बाट शैक्षिक सत्र सुरु हुँदै छ। यस पटक पनि हिमाली क्षेत्रका विद्यार्थीले समयमै पुस्तक पाउनेमा द्विविधा देखिन्छ। मतपत्र छाप्न सक्ने सरकारले किताब छाप्न किन सक्दैन ?’

सांसद मैना कार्कीले जाजरकोट जिल्लामा चार सय १७ मेगावाट क्षमताको जलविद्युत् आयोजना लामो समयसम्म निर्माण सम्पन्न नभएको बताइन्। सांसद योगेशकुमार भट्टराईले जग्गाको मूल्य समान राख्नुपर्नेमा जोड दिए। सांसद नरेन्द्र बरालीले दलित समुदायका व्यक्तिमाथि भइरहेको अपराधसम्बन्धीका घटनामा सरकारको ध्यानाकर्षण गराउँदै दोषीलाई कारबाहीको माग गरे। सांसद रमा कोइराला पौडेलले भक्तपुर जिल्लामा खानेपानीको अभावप्रति सरकारले ध्यान दिनुपर्ने भनाइ व्यक्त गरिन्।

उनले चिया उद्यानमा काम गर्ने श्रमिकका लागि पारिश्रमिक पुनरावलोकन गर्नुपर्ने धारणा राखिन्। सांसद रामकृष्ण यादवले धनुषा जिल्लामा विभिन्न समयमा शिलान्यास भएको सडक र पुलको निर्माण छिटो सम्पन्न गर्नतर्फ ध्यानाकर्षण गराए। सांसद लक्ष्मी तिवारीले नागरिकले नागरिकता प्राप्त गर्न बेहोर्नु परेको सास्तीबारे भनाइ राखिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय