काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले श्रमशक्ति विदेश पलायन हुने अवस्थालाई रोक्न आवश्यक रहेकामा जोड दिएका छन्। नेपाल स्वास्थ्य व्यवसायी परिषद्को २७औँ वार्षिकोत्सव कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले ग्रामीण स्वास्थ्य संस्थामा दरबन्दी अनुसारको डाक्टर, नर्सलगायतका स्वास्थ्यकर्मीको व्यवस्था गर्न मन्त्रालयले उच्च प्राथमिकता दिएको जानकारी दिए।
कार्यक्रममा चिकित्सा शिक्षा ऐनबारे उठेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘म ऐन मान्दिन भन्न पाइँदैन। भएको ऐन मान्नुपर्छ। त्यसमा त्रुटि छ भने संशोधन गरेर समयानुकूल ऐनलाई संशोधन गरेर अगाडि पनि जानुपर्छ।’ कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले नयाँ विषयका स्वास्थ्यकर्मीलाई व्यवस्थापनमा छलफल र सहकार्य गर्ने मन्त्रालय तयार भएको बताए।
उनले भने, ‘दोहोरिएको ऐनलाई संशोधन र सहजीकरण गर्न मन्त्रालय तयार छ। साथै हरेक वर्ष नयाँ विषयका जनशक्ति व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। तर मन्त्रालय त्यसको व्यवस्थापनका लागि छलफलबाट अघि बढ्न तयार छ।’ कार्यक्रममा परिषद्का अध्यक्ष डा मोहनकृष्ण श्रेष्ठले उत्पादित जनशक्तिलाई व्यवस्थापन गर्ने चुनौती भएको बताए।
‘परिषद्ले झण्डै एक लाख बढी दर्ता गरेर पठाएका जनशक्तिको कार्यक्षेत्र किटान छैन, दरबन्दीको व्यवस्था छैन। त्यसमाथि विदेशबाट अध्ययन गरी नेपाल आएका जनशक्तिको व्यवस्थापन ठुलो चुनौती बनेको छ,’ उनले भने। परिषद्का रजिष्ट्रार पुष्पराज खनालले जनशक्ति व्यवस्थापनमा बहस गर्नुपर्नेमा जोड दिए। परिषद्का सदस्य कुमार झाले दुविधायुक्त ऐन र कर्मचारीसम्बन्धी नियमावलीको चुनौती रहेको बताए।

