काठमाडौं। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक गरेको छ। राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले बुधबार ८ सय ८१ जनाको नामावली सार्वजनिक गरेको हो।
यसमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जनाको नाम समावेश छ। चितवन–२ रिक्त रहेको छ भने सांसदद्वय टेकबहादुर गुरुङ र अरूणकुमार चौधरीको नाम नामावलीमा समावेश छैन।
बुधबार नै मध्यान्ह्र १२ बजेदेखि ३ बजेसम्म मतदाता नामावली उपर निवेदन उजुरी दिन सकिनेछ। त्यसमा बिहीबारसम्म दाबी विरोधको उजुरी दिन सकिनेछ। दाबी विरोधबाट मतदाताको नाम, थर, उमेर, पद सच्याउन र नाम छुटेमा समावेश गर्न सकिनेछ।
उजुरीमाथिको छानबिन गरी शुक्रबार दिउँसो ४ बजे अन्तिम नामावली सार्वजनिक गर्ने निर्वाचन आयोगको कार्यक्रम छ। शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ। राष्ट्रपति निर्वाचन भने फाल्गुण २५ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने आयोगले जनाएको छ।

