काठमाडौं। राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न बसेको काँग्रेस र माओवादी केन्द्रसहित चार दलको बैठक सकिएको छ। राष्ट्रपतिको साझा उम्मेदवार तयार गर्न बसेको बैठकमा फरक फरक प्रस्ताव आएपछि पुनः पाँच बजे अर्को बैठक बस्ने गरी सकिएको हो।
बिहान साढे ८ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठक मध्यान्ह साढे १२ बजे सकिएको हो। बैठकमा काँग्रेसले आफ्नो तर्फबाट राष्ट्रपति हुनुपर्ने प्रस्ताव गरेको थियो। तर, काँग्रेस बाहिरबाट बन्ने उम्मेदवारलाई पनि सघाउनुपर्ने प्रस्ताव अन्य दलले राखेपछि अहिलेको बैठक निष्कर्षमा पुगेन।
बैठकपछि काँग्रेस महामन्त्री गगन थापाले विभिन्न प्रस्तावहरू आएको र साँझ ५ बजे बसेर साझा टुंगोमा पुग्ने बताए। ‘बालुवाटारको बैठकमा विभिन्न प्रस्तावबारे छलफल भएको छ। अब आ-आफ्ना दलमा छलफल गरेर टुंगोमा पुग्छौं’ उनले भने, ‘अहिले प्रस्तावहरू आए पनि हामी सबै एउटै निष्कर्षमा पुग्ने भन्ने चाहिँ समझदारी छ।’
काँग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी थिए। यस्तै माओवादी केन्द्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी छन् भने एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेता घनश्याम भुसाल सहभागी छन्। यस्तै जसपा अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ छलफलमा सहभागी छन्।

