आजको संसद बैठकमा क–कस्ले के धारणा राखे ?

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले विकास निर्माणको काममा भइरहेको ढिलाइप्रति सरकार र सदनको ध्यानाकर्षण गराएका छन्।

राजधानीभित्रैको ललितपुरमा पूर्वाधार विकासमा भइरहेको लापर्बाहीबारेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराउँदै सांसद डा तोसिमा कार्कीले स्थानीयवासी धुलो र हिलोमा बस्नुपरेकामा गुनासो गरिन्।

सांसद दीपक खड्का र दिलेन्द्रप्रसाद बडूले खाना पकाउने ग्यासको जलनका कारण घाइते भएका नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीको शीघ्र स्वास्थ्य लाभको कामना गरे। यस्तै, सांसद देवप्रसाद तिमिल्सिनाले पनि सांसद भण्डारीको स्वास्थ्य लाभको कामना र उहाँको माता हरिकला भण्डारीको निधनप्रति दुःख व्यक्त गरे। उनले रौतहटका विभिन्न पुल निर्माणमा भइरहेको ढिलाइप्रति गुनासो गर्दै सरकार र सदनको ध्यानाकर्षण गराए।

सांसद धनराज गुरुङले मुलुकभित्र देखिएको आर्थिक संकट समाधानमा केन्द्रित हुनुपर्ने र भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराए। सांसद नारायणप्रकाश साउदले शून्य समयमा सांसदले उठाएको समस्याको सुनुवाइ नभएको र सम्बन्धित मन्त्रीले जवाफ नदिएको भन्दै सदनको ध्यानाकर्षण गराए।

सांसद नारायणी शर्माले दाङमा निर्माणाधीन हुलाकी राजमार्ग निर्माणमा देखिएको समस्या समाधान गर्न तथा निर्माणको कामलाई गति दिन आग्रह गरिन्। सांसद प्रकाश ज्वालाले सरकारले लामा लामा लाइन हटाउने योजना अगाडि सारेको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको, सुशासन, जवाफदेहिता तथा सिंहदरबार प्रवेशमा सहजता नभएको भन्दै सरकारलाई रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराए।

सांसद प्रकाशमान सिंहले करोडौं मूल्य बराबरको पुराना सवारी साधन विभिन्न सरकारी कार्यालय तथा सार्वजनिक स्थानमा अलपत्र रहेको भन्दै त्यसको व्यवस्थापनमा जोड दिन आग्रह गरे। सांसद डा प्रकाशशरण महतले टोखा छहरे सडक खण्ड निर्माणमा देखिएको व्यवधान तथा ककनी रानीपौवा सडक खण्ड निर्माणमा निर्माण व्यवसायीले लापर्बाही गरेको भन्दै सदनमार्फत सरकारको ध्यानाकर्षण गराए।

सांसद प्रतिमा गौतमले काठमाडौं उपत्यकाभित्रको खानेपानी समस्या समाधान गर्न र मेलम्चीको पानी प्रभावकारीरुपमा वितरण गर्न माग गरिन्। यस्तै, सांसद प्रदीप पौडेलले पनि काठमाडौं उपत्यकाभित्रको खानेपानी समस्या समाधान गर्नुपर्नेमा जोड दिए।

सांसद प्रदीप यादवले सरकारी वेभसाइट घण्टौँ अवरुद्ध हुँदा सेवाग्राहीले समस्या व्योहोर्नुपरेको भन्दै किन यस्तो भएको हो भनेर प्रश्न गरे। शून्य समयमा सांसद वासुदेव घिमिरे, विनीता कठायतलगायतले समसामयिक राजनीतिक तथा विकास निर्माणका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर