काठमाडौं । आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले आफ्नो अपराजित यात्रा जारी राखेको छ । लगातार तेस्रो जित हात पार्ने क्रममा नेपालले हङकङलाई ९ विकेटले पराजित भएको हो।
यूएईस्थिति मलेका क्रिकेट मैदानमा भएको खेलमा हङकङले दिएको १ सय २१ रनको लक्ष्य नेपालले २२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जीतमा आकाश त्रिपाटीले प्रतियोगितामा आफ्नो दोस्रो अर्धशतक पूरा गरे । त्रिपाटीले ७१ बलमा ५ चौका र ३ छक्काको सहयोगमा अविजित ५८ रन बनाए । उत्तम थापाले ५० बलमा ४ चौकाको सहयोगमा अविजित ३९ रन बनाउँदा अर्जुन कुमाल १६ रनमा आउट भए ।
त्यसअघि पहिले ब्याटिङ गरेको हङकङले ४६ ओभर ३ बलमा अलआउट हुँदै १ सय २० रन बनाएको थियो । हङकङका लागि पर्थ भागवात ३६ रनमा आउट हुँदा मोहम्मद जाहिरले २९ रन बनाए । अहान त्रिवेदीले ११ रन बनाउँदा हङकङका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि हेमन्त धामीले ३ तथा आकाश चन्द र सुवास भण्डारीले समान २/२ तथा दीपेश कंडेलले १ विकेट लिए । प्रतियोगितामा नेपालसहित सिंगापुर,कुवेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागिता रहेको छ ।
तेस्रो खेलमा २८ तारिख मंगलबार मलेसियाको सामना गर्ने नेपालले २ मार्च बुधबार घरेलु टोलीसॅंग खेल्नेछ। राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ।