काठमाडौं । खानेपानीमन्त्री अब्दुल खानले खानेपानीमा राजनीति नगर्न संस्थानका कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ। सोमबार(आज) नेपाल खानेपानी संस्थानको ३४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिनुभएको हो।
मन्त्री खानले खानेपानी संस्थानलाई राजनीतिक अखडा बनाए सह्य नहुने चेतावनी दिनुभयो । उहाँले खानेपानी संस्थान आम सर्वसाधारणहरूलाई स्वच्छ र सफा खानेपानी वितरणका लागि निर्माण भएकाले त्यसलाई राजनीतिक अखडा बनाउन नहुने बताउनुभयो ।
उहाँले खानेपानी संस्थानमा बसेर पार्टी र व्यक्तिको लागि राजनीति आफ्नो कार्यकालमा नगर्न चेतावनी दिनुभयो । उहाँले पार्टीमा राजनीति गर्न मन लागेको भए फिल्डमै गएर राजनीति गर्न र अरू पार्टीले स्थान नदिए आफ्नो पार्टीमा राम्रो स्थान दिने बताउनुभयो ।
उहाँले कर्मचारीहरूले खानेपानीको सुधार र खानेपानी आम सर्वसाधारणको घरमा पुर्याउनका लागि आन्दोलन गर्नुपर्ने बताउनुभयो । उहाँले खानेपानीका लागि बजेट छुट्ट्याए र प्राथमिकतामा नराखे आफैँ त्यसको नेतृत्व गरेर प्रधानमन्त्री र अर्थमन्त्रीको कार्यालयमा घेर्ने बताउनुभयो।
उहाँले काभ्रेपलाञ्चोकको पनौतीस्थित खानेपानी संस्थानलाई निजीकरण गर्ने कुरा खानेपानी संस्थानले गरेको भन्दै निजीकरण किन गर्नुपर्ने भन्ने कारणसहित प्रतिवेदन सात दिन भित्रमा पेस गर्न खानेपानी संस्थानलाई निर्देशन दिनुभयो ।

