पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएपछि राष्ट्रिय एकताको सन्देश प्रवाह भयो : प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्व सभामुख रामचन्द्र पौडेललाई आठ दलको समर्थनमा राष्ट्रपतिको उम्मेदवार बनाएपछि राष्ट्रिय एकताको सन्देश प्रवाह भएको बताएका छन्। राष्ट्रपतिको निर्वाचन यही फागुन २५ मा हुँदैछ।

राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन समितिले आठ राजनीतिक दलका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यलाई आज यहाँ आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले गत पुस २६ को प्रतिनिधिसभा बैठकमा संसद् विघटन ठिक थियो भन्ने अभिमत जाहेर भएपछि आफूहरूले नयाँ विकल्प खोजेको उल्लेख गरे।

प्रधानमन्त्री प्रचण्डले गत पुस २६ मा बसेको प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीद्वारा व्यक्त विचारले आफूहरूलाई सोच्न बाध्य बनाएको धारणा राखे। उनले भने, ‘अघिल्लो पटक संविधान विपरीत संसद् विघटन भएपछि हामी सबै संविधान र लोकतन्त्रको पक्षमा उभियौं। संसद् पुनर्स्थापना गर्न सडकसम्म गयौं। हाम्रो गठबन्धन लोकतन्त्र र संविधानको रक्षाका निम्ति थियो, विकास र समृद्धिको जनचाहना सम्बोधन गर्न थियो। तर, बिचमा हामी अलिकति अलमलियौं, अब ठिक ठाउँमा आएका छौं। गठबन्धन सुदृढ बनाएर अघि बढ्छौं।’

प्रतिक्रिया

सम्बन्धित खवर