काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति निर्वाचित हुनेले उक्त संस्थाको गरिमा बचाउनुपर्ने बताएका छन्। राष्ट्रपति निर्वाचनका लागि ८ दलीय गठबन्धनको अभिमुखीकरण कार्यक्रममा महामन्त्री थापाले राष्ट्रपतिले आफ्नो पद र गरिमालाई जोगाउनुपर्ने बताएका हुन्।
उनले राष्ट्रपति निर्वाचनका लागि बनेको गठबन्धन ५ वर्ष नै टिक्ने दाबी गरे। उनले काँग्रेसले धोका नदिने बताए। गठबन्धन गरेरै चुनावमा गएकाले ५ वर्ष नै गठबन्धन बचाउनुपर्ने महामन्त्री थापाको धारणा छ। गठबन्धन तोड्न अहिले पनि केही तत्त्व लागिरहेको उल्लेख गर्दै उनले काँग्रेस पाँच वर्षे समझदारीबाट दायाँबायाँ नहुने बताए।
उनले भने, ‘काँग्रेससँग धेरै चकचक गर्न नआए हुन्छ। यो गठबन्धन पाँच वर्ष नै टिक्छ। काँग्रेसले धोका दिँदैन। काँग्रेसले दिएको वचन पूरा गर्छ। यो संसद्लाई जोखिममा जान दिँदैनौं। गठबन्धन गरेर चुनावमा गएपछि अब पाँच वर्ष त्यो गठबन्धन बचाउन पर्छ। कि गठबन्धन गर्नु हुन्न थियो अब यसलाई पटक पटक तोड्न मिल्दैन। वचन फेर्न मिल्दैन।’
महामन्त्री थापाले आफूहरूले जनताको राष्ट्रपति खोजेको पनि बताए। उनले राष्ट्रपतिले पहिलेको राजाजस्तो बन्ने गरेको बताए। ‘अहिले राष्ट्रपति घरबाट निस्कनुभयो भने नागरिकहरूको भागाभाग हुन्छ। राष्ट्रपतिलाई मात्रै दोष दिएर हुन्न, हाम्रो पनि कमजोरी छ। हामीले त्यो संस्थालाई कस्तो बनाएका छौ ? हिँड्दा राजाको भद्दा नक्कल गर्ने। हिजोको राजाजस्तो हिँडेको मिल्यो कि मिलेन ? दर्शन गरेको मिल्यो कि मिलेन ?,’ उनले भने, ‘राष्ट्रपति भात खानुहुन्न, भुजा ज्यूनार गर्नुहुन्छ। हामीले भुजा ज्युनार गर्ने, सवारी गर्ने राष्ट्रपति खोजेको होइन। जनताको राष्ट्रपति खोजेको हो नि।’

