प्रधानमन्त्री प्रचण्डविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्चमा दायर गरिएको रिट दर्ता भएको छ। मुद्दाको फागुन २५ गतेलाई पेसी तोकिएका सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए। अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकी लगायतले प्रचण्डविरुद्ध रिट हालेका थिए।

द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक कारबाही गर्न आदेश माग गर्दै उनीहरू सर्वोच्च गएका हुन्। शुक्रबार न्यायाधीश ईश्वर खतिवडा र हरिकृष्ण फुयालको इजलासले प्रचण्ड विरूद्ध उनीहरूले दिएका रिट दर्ता गर्न आदेश गरेको थियो।

यसअघि कात्तिकमा यही माग लिएर उनीहरू सर्वोच्च गएका थिए। सर्वोच्च प्रशासनले उक्त रिट दरपिठ गरेपछि त्यसविरूद्ध निवेदन दिएका थिए। सोही निवेदनमा उक्त इजलासले सुनुवाई गर्दै दरपिठ गर्ने निर्णय बदर गरी रिट दर्ता गर्न भनेको थियो। त्यसपछि आरण र बुढाथोकी रिट दर्ता गर्न सर्वोच्च गएका हुन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले ०७६ को माघीको अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित कार्यक्रममा आफूलाई १७ हजार मान्छे मारेर आएको भनिए पनि त्यो कुरा सत्य नभएको बताएका थिए। माओवादी सशस्त्र द्वन्द्वका क्रममा १७ हजार मारिएको भनिए पनि त्यो तथ्यांक गलत भएको भन्दै उनले ५ हजारको जिम्मा लिन सक्ने बताएका थिए। उक्त भाषणलाई आधार बनाएर उनलाई पक्राउ गर्ने आदेश माग गरिएको रिट आज दर्ता भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर