काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलाको पहिलो खेलमा नेपाल विजयी भएको छ। बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हराएको हो।
जितका लागि २९८ रनको लक्ष्य पछ्याएको पीएनजी २४५ रनमा अल आउट भयो। पीएनजीका लागि टोनी उरा र नोर्मान भानुआले अर्धसतक बनाए। भानुआले सर्वाधिक ६० रन बनाउँदा उराले ५० रन बनाए। कप्तान असाद भालाले ४२ रन बनाउँदा किपलिन डोरिगाले २६ रन बनाए। नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। दीपेन्द्र सिंह ऐरीले २ तथा कुशल मल्लले १ विकेट लिए।
यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा पीएनजीले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले आसिफ शेखको ११० रन मद्दतमा ४९.१ ओभरमा सबै विकेट गुमाएर २९७ रन बनाएको थियो।