केही दिनमा समाजवादी मोर्चा बन्छ : प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमा समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिस्ट एकताको पहल गरिने बताएका छन्।

शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेश प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै उनले पहिला समाजवादी मोर्चा बनाउने र त्यसपछि कम्युनिस्टहरूको बृहत्तर एकताका निम्ति बहस सुरु गरिने बताए।

‘जनयुद्ध र जनआन्दोलनका मुद्दा सम्बोधन भइसकेका छैनन्, शान्ति प्रक्रिया टुंगोमा पुगिसकेको छैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ। यसका निम्ति समाजवादी शक्तिहरूको सहकार्य र एकता जरुरी छ।’

उनले अगाडि थपे, ‘माओवादी धाराका कम्युनिस्ट घटकहरूबिच छलफल भइरहेको छ। शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धि विषय सत्य निरूपण तथा मेलमिलापको माध्यमद्वारा टुंगो लगाउनुपर्छ भन्ने हाम्रो साझा मत छ। भोलि संयुक्त अपिल गर्दैछौं, पत्रकार सम्मेलन गर्दछौं। केही दिनमा समाजवादी मोर्चा बन्छ।’

प्रचण्डले समाजवादको ढोका खोल्न बृहत्तर वामपन्थी एकताको आवश्यकता रहेको बताएका छन्। ‘संसारमा एक पटक कम्युनिस्ट आन्दोलन पराजित भएपछि उठेर आएका बिरलै दृष्टान्त छन्। चाहे पूर्वी युरोप हेर्नुस्, चाहे पश्चिम बंगाल वा अन्य ठाउँको क्रान्ति हेर्नुस्, क्रान्तिले धक्का खाएपछि उठ्न कठिन हुन्छ। नेपालमा पनि हामी चुनौती र सम्भावनाको दोसाँधमा छौं। बृहत्तर वामपन्थी एकतामार्फत चुनौती छिचोलेर समाजवादको ढोका खोल्नुपर्छ,’ उनले भने।

समाजवादी मोर्चा बनेपछि त्यसले कम्युनिस्ट पार्टीहरूको एकताका निम्ति नयाँ आधार सिर्जना गर्ने पनि उनले बताए। ‘समाजवादी मोर्चा बनेपछि त्यसले कम्युनिस्ट पार्टीहरूको एकताका निम्ति नयाँ आधार सिर्जना गर्नेछ, त्यसको पहल पनि हामी माओवादीहरूले नै लिनुपर्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘एमालेभित्र पनि ठूलो पंक्ति वामपन्थीहरूको एकताको पक्षमा छ। हिजोको नेकपा फेरि पुनर्स्थापित गर्नुपर्छ भन्ने मत पनि त्यहाँ छ। त्यो मत क्रान्तिको हितमा छ, कम्युनिस्ट आन्दोलनको हितमा छ। त्यसैले हामीले नै एकताको अग्रसरता लिनुपर्छ।’

अधिकांश नेता-कार्यकर्ता फेरि नेकपा भन्न थालेको उल्लेख गर्दै उनले पार्टी एकता भाँड्यो, त्यो शक्ति र प्रवृत्तिबाहेक शक्तिसँग एकताका निम्ति बहस गर्ने बेला आएको बताए। उनले माओवादी धारा र सच्चा वामपन्थीहरूको एकताका निम्ति माओवादी केन्द्रले नै नेतृत्व लिनुपर्ने बताए।

‘एमालेको मूल नेतृत्व कम्युनिस्ट एकताको विरुद्धमा छ, नेकपा विभाजित हुँदा हिजो जसले दीपावली ग¥यो, पार्टी एकता भाँड्यो, त्यो शक्ति र प्रवृत्तिबाहेक एमालेभित्र पनि अधिकांश नेता–कार्यकर्ता फेरि नेकपा चाहिन्छ भन्नेमा छन्,’ प्रचण्डले भने, ‘तसर्थ, त्यो प्रवृत्तिलाई पराजित गर्दै हामीले फेरि एकताका निम्ति बहस गर्ने बेला आयो। माओवादी धारा र सच्चा वामपन्थीहरूको एकताका निम्ति हामीले नै नेतृत्व लिनुपर्छ।’

प्रधानमन्त्री प्रचण्डले नेता-कार्यकर्ता जनतामा गएर, उनीहरूको सुझाव लिएर आएपछि नयाँ ढंगले समीक्षा गर्ने र त्यसका आधारमा माओवादी केन्द्र अगाडि बढ्ने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर