काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको प्राथमिकता अर्थतन्त्र सुधार भएको बताएका छन्।
आज नेपाल निर्माण व्यवसायी महासंघको २४औँ साधारण सभामा उनले भने, ‘मन्त्रिपरिषद्को पहिलो बैठकबाट नै अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न गम्भीर पहल लिने निर्णय गरेको छु। निजी क्षेत्रसँगको सहकार्यमा अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै चुनौतीलाई अवसरमा बदल्न सरकार संकल्पबद्ध छ।’
उनले देशको आर्थिक स्थिति सजिलो अवस्थामा नभए पनि आत्तिइहाल्नु पर्ने अवस्था नभएको बताए। ‘ वर्ष वैदेशिक मुद्रा सञ्चिति घट्दो क्रममा थियो,’ उनले भने, ‘तत्कालीन अवस्थामा लिइएका नीतिले अहिले अवस्था सुधारोन्मुख भएको छ।’
उनले देशसँग १० महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न सक्ने सञ्चिति रहेको बताए। ‘अर्थतन्त्र संकटबाट क्रमशः सुधारतर्फ अग्रसर भइरहेको छ। बाह्य क्षेत्र सन्तुलनमा राख्नका निमित्त विगतमा कसिलो मौद्रिक नीति जरुरी थियो तर अहिले त्यो संकट टरिसकेको छ।’ उनले सरकारको ध्यान अहिले आर्थिक गतिविधिलाई कसरी चलायमान बनाउने र अर्थतन्त्रका सूचकमा कसरी सुधार ल्याउनेमा रहेको स्पष्ट पारे।

