काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको बताएका छन्।
नेपाल उद्योग परिसंघ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपीआईटी) को संयुक्त रुपमा आज यहाँ आयोजना गरेको नेपाल-चाइना विजनेस फोरम-२०२३ लाई सम्बोधन गर्दै उनले जनशक्तिको सहज उपलब्धता, परिमार्जित श्रम कानुन र सुधारिएको औद्योगिक सम्बन्धलगायतका कारणले गर्दा नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको बताए।
प्रधानमन्त्रीले विदेशी लगानीकर्ताले भोग्दै आएका झन्झट हटाउन एकल विन्दु सेवा सुरु गरिएको र त्यसलाई थप प्रभावकारी बनाउने विश्वास दिलाए। उनले नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्तालाई तत्कालै सबै प्रकारका सेवा एउटै विन्दुबाट प्राप्त गर्ने अवस्था सिर्जना गर्ने स्पष्ट पारे। मुलुकभित्र पूर्वाधार विकास गर्न ठूलो लगानी र नयाँ प्रविधिको आवश्यकता रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले चीन सरकारले त्यसमा सहयोग गर्नेमा विश्वास व्यक्त गरे।

