काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले संविधानमा जेजस्ता कुरा लेखिए पनि व्यवहारमा देखिएको केन्द्रीकृत मानसिकताले अपेक्षाकृत परिवर्तन गर्न चुनौती खडा भइरहेको बताएका छन् । प्रदेश सरकारको अभ्यास, उपलब्धि र चुनौतीबारे जिज्ञासामा उनले सङ्घीयता कार्यान्वयनका धेरै राम्रा, केही पेचिला र केही नकारात्मक पक्ष भएको टिप्पणी गरे।
मुख्यमन्त्री अधिकारीले भने, “संविधानको परिपालना भनेको पाठ पढाउने विषय होइन, पालना नै लोकतन्त्रको अनिवार्य सर्त हो । लोकतन्त्रको जेठासी र क्रान्तिकारी हुँ भन्नेबाटै पनि संविधान उलङ्घन भएको छ ।”
दलको नीति, सिद्धान्त, विचार, पहिचान र चुनाव चिह्नसमेतलाई तिलाञ्जलि दिएर चुनावमा होमिनु भनेको अवसरवादलाई व्यापक र व्याप्त बनाउने कार्य भएको जनाउँदै मुख्यमन्त्री अधिकारीले यस्ता नकारात्मक पक्षलाई तुरुन्त सच्याउन आवश्यक रहेको बताए ।
एक प्रसङ्गमा नेकपा (एमाले) स्थायी कमिटी सदस्य अधिकारीले भने, “प्रदेशको औचित्यमाथि गम्भीर प्रश्न उठेका बेला तीन–तीन महिनामा सरकार फेर्ने हो भने यसको सान्दर्भिकतामाथि प्रश्न चिह्न खडा हुन्छ, यो दुर्भाग्यपूर्ण विषय हो । प्रदेश मन्त्रालयको सङ्ख्या घटाएर, मितव्ययी बनाएर तथा जनताको नजिकैको सरकारको अनुभूति दिलाएर यसको जवाफ दिन हामी खोजिरहेका छौँ ।”
देशको स्वाधीनता र लोकतन्त्रमाथि प्रश्न चिह्न खडा गर्ने काम नेपाल र नेपालीलाई सह्य नहुने बताउँदै नेता अधिकारीले लामो सङ्घर्ष र बलिदानका उपलब्धिका रूपमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन तीन तहकै सरकारबीच समन्वय र सहकार्य तथा राजनीतिक दलका नेता एवं कार्यकर्तामा सुझबुझ र धैर्य आवश्यक रहेको बताए ।

