काठमाडौं । उपराष्ट्रपतिको निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइएको छ । निर्वाचन आयोगले यही चैत ३ मा हुने उपराष्ट्रपतिको निर्वाचनका लागि ् प्रचारप्रसारमा रोक लगाएकोे हो । चैत ३ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने आयोगले जनाएको हो ।
निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिएको छ ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था गरिएको छ ।
निर्वाचन ९कसुर तथा सजाय० ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइँदैन । साथै उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएको छ ।
आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित÷हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य गर्न हुँदैन ।
उपराष्ट्रपतिका लागि अष्टलक्ष्मी शाक्य, प्रमिला कुमारी यादव, ममता झा, रामसहाय प्रसाद यादव गरी ४ जनाको उम्मेदवारी दर्ता भए पनि प्रमिलाकुमारीले भने उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभएको छ । अब उपराष्ट्रपतिमा एमालेबाट शाक्य तथा जसपाका यादव तथा जनमत पार्टीकी ममता झाबीच प्रतिस्पर्धा हुनेछ ।
उपराष्ट्रपतिका लागि चैत ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।

