मुस्ताङ । बहुचर्चित बेनी–जोमसोम– कोरोला सडक खण्डअन्तर्गत थासाङ गाउँपालिका–२ खन्तिगाउँदेखि घरपझोङ गाउँपालिका–३ र ४ जोमसोम काठेपुलसम्म कालोपत्र गर्ने काम जारी रहेको छ । गौरी– पार्वती÷कोषी एन्ड न्यौपाने जेभीले सो काम सम्पन्न गरेको हो ।
मुस्ताङको थासाङ गाउँपालिका–२ खन्तिगाउँदेखि घरपझोङ गाउँपालिका–३ र ४ जोमसोम काठेपुल जोड्नका लागि हाल कालोपत्रको काम धमाधम भइरहेको कम्पनीका प्रतिनिधि कमल भण्डारीले बताए । उनले सरोकारवाला निकायले चासोका साथ सहयोग गरिरहेको बताए ।
उनले भने, “कालोपत्रको काम सक्ने बित्तिकै जोमसोम एयरपोर्टदेखि एक किलोमिटर ढलानको कामसमेत सुरु गर्नेछौँ ।” प्राविधिक रुपमा समस्या नआएमा असार मसान्तसम्म कालोपत्रसँगसँगै अन्य महत्वपूर्ण कामहरुसमेत सकाउने उनले बताए । काम सुरु भएको दिनदेखि नै स्थानीय निकाय, प्रशासन, स्थानीयवासी र आम सरोकारवाला निकायको भरपुर साथ र हौसला पाएको उनको जिकिर छ ।
चार नं प्याकेजअन्तर्र्गत १७ किलोमिटर सडक सम्पन्न गर्न हालसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको बेनी– जोमसोम– कोरोला सडक आयोजनाले जनाएको छ । हाल भइरहेको काम कालोपत्र र सडक ढलानको हो ।

