मन्त्री र उच्चपदस्थ कर्मचारीको विदेश भ्रमणमा कडाइ

काठमाडौं। सरकारले मन्त्री र उच्चपदस्थ कर्मचारीको विदेश भ्रमणमा कडाइ गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बुधबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अत्यावश्यक बाहेक मन्त्री र उच्च पदस्थ सरकारी कर्मचारीहरूको विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको जानकारी दिइन्।

त्यसैगरी सरकारले पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा गठित उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ।

त्यसैगरी नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एकरूपता कायम गर्ने निर्णय भएको छ। तल्लो लिखु जलविद्युत् आयोजनाको १३२ केभी प्रसारण लाइन निर्माणका लागि वन क्षेत्र उपयोग गर्न दिने निर्णय सरकारले गरेको छ।

सरकारले रामपुर स्वास्थ्य चौकी उदयपुरलाई १० शैयाको आधारभूत अस्पतालमा स्तरोन्नति गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिइन्। त्यसैगरी सरकारले यति एयरको विमान दुर्घटनाको जाँच आयोगको म्याद ४५ दिन थप गर्ने निर्णयसमेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर