काठमाडौं। निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको मतपत्रको नमूना सार्वजनिक गरेको छ। उक्त निर्वाचनका लागि दुई प्रकारको मतपत्रको व्यवस्था गरिएको छ।
संघीय संसद्का सदस्यले मतदान गर्ने प्रयोजनका लागि रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ। मतपत्रमा उम्मेदवारको तस्बिर र नाम समावेश गरिएको छ। उपराष्ट्रपतिको निर्वाचनमा अष्टलक्ष्मी शाक्य (बोहरा), प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव गरी चार उम्मेदवार रहेका छन्।
संघीय संसद् र प्रदेशसभाका सदस्यले मतपत्रमा रहेका कुनै एक उम्मेदवारको तस्बिर र नाम अंकित रहेको कोठामा स्वस्तिक छाप लगाई मत संकेत गर्नुपर्ने छ।
उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद् र प्रदेशसभाका सदस्य मतदाता रहेका छन्। संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ। यही चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ।

