काठमाडौं। आइसिसी पुरुष विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक एक दिवसीय शृङ्खलाको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाललाई जितका लागि ३११ रनको विशाल लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रनको विशाल योगफल बनाएको हो। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलो पटक यति ठूलो रनको लक्ष्य प्राप्त गरेको हो।
युएईका लागि आसिफ खानले शतक प्रहार गरे। कूल ४२ बल खेलेका उनले ११ छक्का र चार चौकाको मद्दतमा अविजित १०१ रनको योगदान गरे। यसैगरी युएईका अर्का खेलाडी भृत्य अरविन्दले ९४ रन जोडे। कूल १३८ बल खेलेका उनले दुई छक्का र आठ चौकाको मद्दतमा ९४ रनको योगदान दिएका हुन।
त्यस्तै युएईका कप्तान मोहम्मद वसीमले पनि अर्धशतक प्रहार गरे। उनले ४३ बलमा छ छक्का र दुई चौका प्रहार गर्दै ६३ रन बनाए। साथै रोहन मुस्तफाले २० रन र आर्यन लाक्राले छ रन बनाए । सिपी रिजवानले सात रन बनाए भने आयन अफजल खानले तीन रन जोडे।
बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए भने सन्दीप लामिछाने, ललित राजवंशी र सोमपाल कामीले समान एक/एक विकेट लिए।
सन् २०१९ देखि सुरुआत भएको आइसिसी विश्वकप लिग-२ को अन्तिम खेल नेपालका लागि निर्णायक मानिएको छ। यस खेलमा नेपाल विजयी भए शीर्ष तीनभित्र पर्दै आगामी वर्ष जिम्बावेमा हुने एक दिवसीय विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछ। यदि नेपाल युएईसँग पराजित भएको खण्डमा यसै महिनाको अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने छ। नेपाल पराजित भए नामिबियाले विश्वकप छनोट खेल्न पाउने छ।
नेपाल लिग-२ का ३५ मध्ये १८ मा जित र १५ मा हारसहित ३८ अंकका साथ नेपाल तालिकाको चौथो स्थानमा छ। त्यस्तै नामिबिया ३९ अंक जोड्दै तेस्रो स्थानमा छ भने ३५ अंक जोडेको अमेरिका पाँचौं स्थानमा छ। युएई ३५ खेलमा ३३ अंकका साथ छैटौं स्थानमा छ। स्कटल्यान्ड ५० अंकका साथ शीर्ष स्थानमा छ भने ओमान ४४ अंकका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा पुगिसकेका छन्। पपुवा न्युगिनी ११ अंकका साथ तालिकाको अन्तिममा छ।