काठमाडौं। नेकपा एमालेका सचिव गोकर्ण विष्टले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा अस्थिरता निम्ताउने कामको अगुवाइ गरिरहेको आरोप ललाएका छन् ।
आज शनिवार प्रेस चौतारी मकवानपुर शाखाले हेटौंडामा गरेको पत्रकार सम्मेलनमा विष्टले प्रचण्डले देशभित्र र बाहिरका शक्ति केन्द्रको स्वार्थमा काम गरिरहेको टिप्पणी गरे ।
नेकपा एमालेसँग मिलेर माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेपनि २ महिना बित्न नपाउँदै सहमतिलाई तोडेर प्रचण्डले अवसरवाद देखाएको विष्टले बताए। नेपाली कांग्रेस, नेकपा माओवादी लगायतका पार्टीहरुले नेकपा एमालेका विरुद्ध बनाएको समीकरणको आयु धेरै लामो नभएको विष्टको भनाइ छ ।
कुनै नीति, सिद्धान्त, विचार र निश्चित मापदण्ड बिना बनेको यस्तो गठबन्धन भत्किएर नयाँ प्रकारका अवस्थाहरु देखापर्ने उनले बताए । नेकपा एमालेलाई कमजोर बनाउनका लागि कसैले अह्राएको वा सिकाएको आधारमा अरु दलहरु एक ठाउँमा आएको उनको भनाइ छ ।

